अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली लिग वानमा डेब्यु गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टेसमाथि सहज जित हात पारेको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्याे
पीएसजीको जितमा फ्रान्सेली फरवर्ड केलियन एमबाप्पेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
नान्टेसका रान्डल कोलो मुआनीले एक गोल फर्काए। खेलको दोस्रो मिनेटमा नै एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो। ६५औं मिनेटमा लुडोभिक ब्लासमाथि फउल गरेपछी गोलरक्षक केलर नाभास सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो।
७६औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए। ८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता बनायो। ८७औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रेनेसको समान खेलबाट २५ अंक छ। रेनेसले गएराति नै भएको अर्को खेलमा मोन्टपिलरलाई २–० गोल अन्तरले पाखा लगायो।
Shares

प्रतिक्रिया