कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र एपिएफ फुटबल क्लब भिड्नेछन्।
खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। दुवै टोली एकअर्काविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन्।
आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ-मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल सोही रंगशालामा अपरान्ह पौने ५ बजे सुरु हुनेछ।
पहिलो चरणको तिन खेल सकिँदा रुस्लान थ्रीस्टार क्लबले मात्र जित निकाल्न सफल भएको छ। शनिबार भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
शनिबार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन्। शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्सले गोलरहित बराबरी गरेका थिए।
१४ टोली सहभागी लिगमा यो संस्करण दुई टोली रेलिगसेनलमा पर्नेछन्। लिगको विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले २५ लाख पाउने छन्।
हरेक खेलको विजेताले ५० हजार तथा बराबरी गरेको खण्डमा भने दुवै टोलीले समान २५ हजार रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया