राजनीति


३५ वर्षपछि फर्कियो दक्षिण एसियाकै नामुद ‘सिनास जर्नल’

३५ वर्षपछि फर्कियो दक्षिण एसियाकै नामुद ‘सिनास जर्नल’

सन्तोष घिमिरे
मंसिर ५, २०७८ आइतबार १३:२५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिंक ट्यांक सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) ले ३५ वर्षपछि पुनः जर्नल प्रकाशन थालेको छ। लामो समयको स्थगनपछि ‘स्ट्रयाटिजिक स्टडिज सिरिज’ जर्नल पुनः छाप्न थालिएको हो। 

उक्त जर्नल वर्षमा दुईपटक प्रकाशन हुनेछ। जसमा नेपालको विदेश नीति र कूटनीतिक सम्बन्ध, बदलिँदो विश्व राजनीतिले नेपाल र एसियामा सिर्जना गरेका चुनौती र अवसरबारे लेख र अन्तर्वार्ता हुन्छन्। 

यो जर्नल पहिलोपटक सन् १९८४ मा प्रकाशन भएको थियो। शीतयुद्धका बेला प्रकाशित उक्त जर्नललाई विदेशी कूटनीतिज्ञ र विदेशी प्राज्ञले पनि विशेष अभिरुचिका साथ पढ्थे। नेपालका पञ्चायती शासकले पनि सिनास थिंक ट्यांक र जर्नललाई विशेष चासो दिएका थिए। किनकि त्यसबेला सिनास नेपालमा प्रभावशाली थिंक ट्यांक थियो।

शीतयुद्ध चलिरहँदा तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) गठनबारे सदस्य राष्ट्रबीच छलफल भइरहँदा सन् १९८४ मा जर्नल प्रकाशनमा ल्याइएको थियो। जसको नेतृत्व सिनासका तत्कालीन कार्यकारी निर्देशक कुमार खड्ग विक्रम शाहले गरेका थिए। 

राजीव गान्धीदेखि हेनरी किसिन्जरसम्मका अन्तर्वार्ता  
सिनास जर्नलमा नेपालको राष्ट्रिय हित, परराष्ट्र नीति र वैदेशिक मामिलामा देखिएका चुनौतीबारे स्वदेशी तथा विदेशीका आलेख र अन्तर्वार्ता छापिन्थे। भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी, पाकिस्तानी राष्ट्रपति जिया उलहक र अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरका अन्तर्वार्ता जर्नलमा छापिए। सिनासले सरकारलाई नेपालको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे महत्त्वपूर्ण सल्लाह र सुझाव दिन्थ्यो, पञ्चायतकालमा। 

जर्नलका प्रधान सम्पादक थिए– डा. श्रीधर खत्री, जो अहिले अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत हुन्। सन् १९८६ मा जर्नल बन्द हुनुअघि दसौं अंकसम्म खत्री सम्पादक रहे।

उक्त जर्नल पुनः प्रकाशनमा ल्याइएको अवसरमा शनिबार बिहान सिनासको कार्यालय, कीर्तिपुरमा आयोजित कार्यक्रममा खत्री उपस्थित थिए। 

‘३५ वर्षपछि जर्नल पुनः प्रकाशित हुँदा खुसी लागेको छ। यसले अब निरन्तरता, वस्तुनिष्ठता र गुणस्तरीयता कायम गर्न सकोस् भन्ने शुभेच्छा छ’, डा. खत्रीले प्राज्ञ, राजनीतिक दलका नेता, परराष्ट्रमन्त्री र पत्रकारमाझ भने।

उनले नेपालका दुई छिमेकी चीन र भारत विश्वशक्ति बन्नेतर्फ अग्रसर हुँदै गर्दा विश्व राजनीतिक व्यवस्थामा आउने परिवर्तनका असर नेपालमा पर्ने बताए। 

जर्नल प्रकाशनमा​ विदेशी सहयोग नलिइने 
कार्यक्रममा सहजकर्ता रहेका सिनासका निर्देशक मृगेन्द्रबहादुर कार्कीले जर्नल प्रकाशनका लागि कुनै पनि विदेशी मुलुकसँग हात फैलाउने पक्षमा आफू नरहेको बताए। 

‘हामी विदेशी दाताको सहयोगबिना यो जर्नल प्रकाशित गर्न चाहन्छौं। दाताको सहयोग लिएर हामीले उनीहरूकै शर्तमा ​काम गर्नुपर्ने अवस्था हुन्छ। अहिले हामीसँग केही सिड मनी छ, त्यसैबाट यसलाई चलाउन चाहेका छौं’, परराष्ट्रमन्त्री डा. नारायण खड्का मुख्य अतिथि रहेको कार्यक्रममा सिनास जर्नलका प्रधान सम्पादक कार्कीले भने, ‘तर अबका दिनमा सरकार तथा सबै क्षेत्रको सहयोग होस्।’ 

मन्त्री खड्काले अध्ययन र अनुसन्धानका क्षेत्रमा आफ्नो पनि गहिरो अभिरुचि रहेको बताउँदै आगामी दिनमा सिनासलाई सहयोग गर्ने बताए। खड्काले बजेट र स्रोतको अभावमा सिनासले जर्नल प्रकाशन गर्न नसकेको सुन्दा आफूलाई असहज महसुस भएको बताए। 

मन्त्री खड्काले भारतका पूर्वराजदूतहरूले धमाधम पुस्तक निकालिरहेको र नेपालको प्राज्ञिक र बौद्धिक वर्ग पनि त्यसै विषयमा बहसमा उत्रिरहेको बताउँदै अबका दिनमा नेपालका प्राज्ञले नेपालबारे स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताए। 

‘१८१६ र १९५० का सन्धिका मूल कपि नै छैनन्’ 
नेपालमा ‘इन्स्टिच्युसनल मेमोरी’ राख्ने परिपाटी नहुँदा कूटनीतिक सम्बन्ध सञ्चालनमा पनि अप्ठ्यारो परेको मन्त्री खड्काले बताए। 

‘हामीसँग न त १८१६ को सुगौली सन्धिको मूल कपि छ न त भारतसँगको १९५० को सन्धिको मूल कपी नै छ। अबका दिनमा भारतसँग सीमाका सवालमा वार्तामा बस्दा कसरी प्रमाणसहित पेस हुने? यस्ता विषयमा पनि थिंक ट्यांकमार्फत छलफल हुन आवश्यक छ’, खड्काले भने। 

मन्त्री खड्काले अहिले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ता विषयमा मुलुकभित्र राष्ट्रिय सहमति नरहेको बताउँदै त्यसका लागि दलहरूबीच सहमति आवश्यक रहेको धारणा राखे। 

‘यदि एमसीसीजस्ता विषयमा नेपालका राजनीतिक शक्तिबीच राम्रो सल्लाह भएन भने उनीहरू आएर यहाँ स्पेस खोज्छन्। त्यसमा हामी सचेत हुनैपर्छ’, उनले भने।

पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिनासको जर्नल पञ्चायतकालमा दक्षिण एसियाकै नामुद जर्नलका रूपमा प्रकाशन भए पनि पछि बन्द हुनु दुःखद भएको बताए। उनले परराष्ट्र नीतिबारे सिनासजस्ता संस्थाले दिने सुझाव महत्त्वपूर्ण हुने बताए। 

कार्यक्रमका अर्का वक्ता माओवादी केन्द्रका विदेश विभाग उपप्रमुख राम कार्कीले नेपालमा ‘अर्गानिक बुद्धिजीवी’को खाँचो रहेको बताए। उनले चीन र भारत विश्वशक्ति बन्नेतर्फ अघि बढेको र ‘ग्लोबल पावर’ पश्चिमबाट पूर्वतिर ‘सिफ्ट’ हुन लागेका कारण पुँजीवादी विश्व व्यवस्था अवसानतर्फ अघि बढेको तर्क गरे। 

नेपालको विकास नीति र विदेश सम्बन्धबारे सिनासले जर्नल मार्फत् बहस चलाउनुपर्ने कार्कीको सुझाव छ।​

नयाँ अंक नेपाल–चीन विशेष 
शनिबार जर्नलको एघारौं अंक सार्वजनिक भएको छ। जुन नेपाल-चीन सम्बन्धबारे केन्द्रित छ। जर्नलमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता  छापिएको छ भने अन्य ५ वटा लेख नेपाल-चीन सम्बन्धका विषयमा छन्। 

त्यसैगरी राष्ट्रपति भण्डारीको चीन भ्रमण र उनले त्यस क्रममा दिएका मन्तव्य, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र उनले दिएका वक्तव्य पनि जर्नलमा समेटिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .