खेल


नेपाली टोलीद्वारा टी-२० आई सिरिज ‘क्लिनस्वीप’

नेपाली टोलीद्वारा टी-२० आई सिरिज ‘क्लिनस्वीप’

नेपालखबर
मंसिर २, २०७८ बिहिबार २०:१, काठमाडौँ

कतार भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले घरेलु टोलीसँगको तिन खेलको टी-२०आई सिरिज क्लिनस्वीप गरेको छ। 

बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले पाखा लगाउँदै सिरिज क्लिनस्वीप गरेको हो। 

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो। कतारकी ब्याटर एलिना खानले सर्वाधिक १९ रन जोडिन्। कप्तान आयशाले १३ रन थप्दा ब्याटरले दोहारो अंकको स्कोर छुन सकेनन्। 

कतारलाई कम स्कोरमा रोक्न नेपालकी कप्तान रुविना क्षेत्रीले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन्। सरस्वती कुमारी चौधरी र सबनम राईको नाममा समान १ विकेट रह्यो। 
त्यसअघि दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल तयार पारेको थियो। 

नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो। यसअघि कतारसँग पहिलो खेलमा नेपालले बनाएको १ सय ४६ रन उच्च थियो। 

ओपनर सीता रानामगर ८२ र सरिता मगर १७ रनमा नटआउट रहे। चौथो विकेटका लागि सीता र सरिताले ४२ रनको साझेदारी गरे। 

सीताले ७२ बलमा ७ चौका मद्दतमा ८२ रनको अविजित पारी खेलिन्। टि–ट्वान्टी आई क्रिकेटमा महिला क्रिकेट टोलीको तर्फबाट सीताले जोडेको यो व्यक्तीगत सर्वाधिक स्कोर हो। ११ बलको सामना गरेकी सरिताले १ चौका हानिन्। 

दोस्रो विकेटका लागि सीता रानामगर र ज्योति पाण्डेले ६७ रनको साझेदारी गरे। पाण्डेले २० बलमा १ चौका हान्दै २४ रन थपिन्। 

नेपालकी सीता रानामगर टि–२० आईमा अर्धशतक पुरा गर्ने तेस्रो नेपाली खेलाडी बनेकी छिन्। यसअघि कतारसँगकै दोस्रो खेलमा कप्तान रुविना क्षत्रीले अर्धशतक पुरा गरेकी थिइन्।

पहिलो खेलमा इन्दु बर्माले अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेकी थिइन्। ओपनर काजल श्रेष्ठ ७ र डोली भट्ट १२ रनमा पवेलियन फर्किइन्। 

नेपालले कतारलाई पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा ६१ रनले हराएको थियो। 

सिरिजपछि नेपाली टोली शुक्रबार आईसीसी वुमन्स टि२० एसिया छनोटका लागि युएईतर्फ लाग्नेछ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि–२० विश्वकपको एशिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्रले भाग लिनेछन्। विजेता टोलीले आगामी वर्ष हुने टि–२० ग्लोबल छनोट खेल्न पाउने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad