खेलाडी वर्गीकरणका विषयमा सञ्चारमाध्यममा बोलेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका ४ खेलाडीसँग स्पष्टीकरण सोधेको छ।
खेलाडी वर्गीकरण गर्दा श्रेणी विभाजनमा भेदभाव भएको भन्दै सञ्चारमाध्यममा बोलेपछि क्यानले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, अलराउण्डर सोमपाल कामी र तीव्र गतिका बलर कमल सिंह ऐरीलाई स्पष्टीकरण सोधेको हो।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने, ‘उहाँहरुले एक अनलाईनमा श्रेणी विभाजनका विषयमा सम्झौताका विषयमा बोल्नुभएको रहेछ, त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले अनुशासनको परिधिभित्र बस्नुपर्ने खेलाडीहरुले आफूखुसी मिडियामा गएर क्यानले दिएको सम्झौताका विषयमा बोलेको हुनाले हामीले स्पष्टीकरण सोधेका छौँ।’
खेलाडीलाई इमेलमार्फत क्यानले स्पष्टीकरण सोधेको उनले बताए। पत्र पाएको ७ दिनभित्र जवाफ दिन भनिएको र खेलाडीको जवाफ आएपछि क्यानले एउटा समिति बनाएर छानबिन गरेर अगाडि बढ्ने उनले बताए।
प्रस्टीकरण हेरेर अगाडिको विषयमा थप छलफल गर्ने क्यानले तयारी गरेको छ।
वर्गीकरण अनुसार ए श्रेणीका खेलाडीले ५० हजार, बी श्रेणीका खेलाडीले ४० र सी श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन्।
Shares

प्रतिक्रिया