आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ।
दुबईमा नेपाली समयानुसार आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलोपटक टी–२० विश्वकपको नयाँ च्याम्पियन बनेको हो।
टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियालाई पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले १७३ रनको लक्ष्य दिएको थियो, जसलाई अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
अस्ट्रेलियाका मिचेल मार्स र डेभिड वार्नरले टोलीलाई जिताउन अर्धशतकीय योगदान दिए। मार्सले अविजित ७७ रन बनाए। उनले ५० बलमा ६ चौका र ४ छक्का हाने। डेभिड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे।
दोस्रो विकेटका लागि मार्स र वार्नरले ९२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। यस्तै मार्सले तेस्रो विकेटका लािग ग्लेन म्याक्सवेलसँग ६६ रनको साझेदारी गरे र टोलीलाई जिताए। म्याक्सवेलले १८ बलमा २८ रन बनाए।
उता न्युजिल्यान्डतर्फ ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए।
पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान गरे। उनले ४८ बलमा १० चौका र ३ छक्का हानेका थिए। मार्टिन गप्टिलले २८ रन बनाए भने ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन जोडे।
विजेता अस्ट्रेलियाका डेभिड वार्नर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फाइनल खेलमा अर्धशतक बनाएका उनले प्रतियोगितामा २८९ रन जोडेका हुन्।
Shares

प्रतिक्रिया