आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको छ।
सारजाहमा खेलिएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ विकेटले हराएको हो।
रोमाञ्चक खेलमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो।
श्रीलंकाले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।
दक्षिण अफ्रिकालाई जिताउन कप्तान टेम्बा बाभुमाले ४६ रन जोडे। विजयी इनिङ्स खेलेका डेभिड मिलरले अविजित २३ रन बनाए।
कागिसो राबडा १३ रनमा अविजित रहे। एडिन मार्क्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रिक्स ११ रनमा आउट भए ।
श्रीलंकाका वाविन्दु हसरंगाले ह्याट्रिक विकेट लिए। दुश्मन्था चामिराले २ विकेट झारे। यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो।
श्रीलंकाका पाथुम निशन्काले ७२ रनको अर्धशतकीय इनिङ्स खेले। चारिथ असन्काले २१ रन जोड्दा कप्तान डसुन शनकाले ११ रन जोडे।
दक्षिण अफ्रिकाका लागि ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले ३/३ विकेट झारे। त्यस्तै एन्रिच नोर्कियाले २ विकेट झारे।
यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलमा ४ अंक जोडेको छ। समूह १ को दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। श्रीलंका ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ।
Shares

प्रतिक्रिया