खेल


बार्सिलोना र रियल म्याड्रिडमा कस्ले मार्ला बाजी?

बार्सिलोना र रियल म्याड्रिडमा कस्ले मार्ला बाजी?

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १६:१४, काठमाडौँ

स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ।

एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८ः०० बजे हुनेछ। नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ। बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन।

लिगमा अहिले दुवै टोलीले आठ खेल सकेका छन्। रियलले बार्सिलोनालाई दुई अंकले पछि पारेको अवस्था छ। यस्तोमा बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडी बढ्ने दाउमा छ। रियल पनि बार्सिलोनालाई घरमै हार चखाउन चाहन्छ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित सातौं स्थानमा छ। शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ।

चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेकाले पनि बार्सिलोना सुरुवाती खेलमा समस्यामा परेको थियो। यता रियलले आठौं राउन्डमा स्पान्योलसँग २–१ को हार खेप्नु बाहेक अन्य खेलमा सानदार प्रदर्शन गरिरहेको छ।

रियलका कप्तान करिम बेन्जेमा यतिवेला करिअरकै उच्च लयमा देखिएका छन्। उनले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात असिस्ट दिएका छन्। सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमालाई भिनिसियस जुनियरको उतिकै साथ छ। भिनिसियसले पनि पाँच गोल सहित दुई असिस्ट दिएका छन्।

यता बार्सिलोनामा मेम्फिस डिपायले सानदार प्रदर्शन गरिरहेका छन्। यसै सिजन लियोनबाट बार्सिलोना आएका डिपायले बार्सिलेनामा लियोनल मेस्सीको अभावलाई पूर्ति गरेका छन्। उनले आठ खेलमा चार गोल सहित दुई असिस्ट दिएका छन् ।

बार्सिलोनाले एल क्लासिको भिडन्तमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो र औसमाने डेम्वेलेलाई समेत उतार्ने तयारी गरेको छ। यसअघि यी दुई स्टार घाइते थिए। यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका एग्युरो सुरुवातमै अभ्यासको क्रममा घाइते भएका थिए।

रियल र बार्सिलोनाबीचको पछिल्लो २९ खेलमा बार्सिलोना १६ खेलमा विजयी भएको छ। रियलले १३ खेल जितेको छ, भने १० खेल बराबरीमा सकिएको छ। रियल पछिल्लो पटक सन् २०१९ को मार्चमा घरेलु मैदानमा १–० ले पराजित भएको थियो। त्यसयता पछिल्लो चार खेलमा रियल बार्सिलोनासँग अपराजित छ। पछिल्ला चार भिडन्तमा रियलले तीन खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ।

ला लिगाको एल क्लासिकोमा हालसम्म यी दुई टोलीबीच एक सय ८२ खेल भएको छ। जसमा रियलले ७५ खेल जितेको छ। बार्सिलोनाले ७२ खेल जितेको छ। ३५ खेल बराबरीमा सकिएको छ।

सबै खाले एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कूल दुई सय ४६ आधिकारिक खेल भएका छन्। जसमा रियलले ९८ खेल जितेको छ। बार्सिलोनाले ९६ खेल आफ्नो पक्षमा पारेको छ। ५२ खेल बराबरीमा सकिएको छ।

सबै खाले एल क्लासिको खेलमा रियलले ४१० गोल गरेको छ भने बार्सिलोनाले ४०१ गोल गरेको छ। रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ४७औं आधिकारिक एल क्लासिको भिडन्त हुनेछ। यसमा कस्ले बाजी मार्ला? भन्ने चासो र कौतुहलता विश्वभरका फुटबल समर्थकमा छ।

एल क्लासिकोको इतिहास                  
अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्द्वी स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ। स्पेनका यी दुई विश्व महारथी क्लबबीचको भिडन्तले विश्वभर तहल्का नै मच्चाउने गर्दछ।

यो युइएफए यूरोपियन च्याम्पियनसिपको फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय फुटबल खेल हो। यी दुई क्लबहरु स्पेनिस ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन्।

एल क्लासिको प्रतियोगिता इतिहासका कारण पनि प्रख्यात छ। ऐतिहासिक दृष्टिबाट हेर्दा बार्सिलोना र रियल म्याड्रिड स्पेनका दुई ठुला शहर हुन्। जहाँ दुई फरक राजनीतिक मत पाइन्छ।
सामान्यतः बार्सिलोना समर्थक क्याटालोनिया समर्थक छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकारनिकट हुन्छन्। यी दुवै क्लब संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन्।

पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकलाई असमान र अत्याचार गरिन्थ्यो। तसर्थ त्यहाँका नागरिकहरुले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु राखेका हुन्छन्।

१६ वर्षपछि मेस्सी र रोमोसविनाको एल क्लासिको
एल क्लासिकोमा अहिलेसम्म सबै भन्दाबढी खेल खेल्ने खेलाडी बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका सर्जियो रामोस हुन्।

मेस्सी र रामोसले सर्वाधिक ४५ पटक एल क्लासिको खेलेका छन्। संयोगबस यी दुवै स्टार यस सिजन एल क्लासिकोमा देखिने छैनन्। मेस्सी र रामोस यसै सिजन स्पेन छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका छन्।

कुनै बेला एल क्लासिकोमा एक अर्काका प्रतिद्वन्द्वी अहिले एउटै क्लबबाट खेलिरहेका छन्। सन् २००५ देखि लगातार रियलमा रहेका रामोस र सन् २००० देखि बार्सिलोनाको जुनियर टोलीहुँदै २१ वर्ष बार्सिलोनामा विताएका मेस्सीले यसै सिजन स्पेन छाडेका हुन्।

मेस्सी र रामोस नहुँदा कतिपयले एल क्लासिकोको खल्लो हुने अनुमान समेत गरेका छन्। तर अधिकांश समर्थकले भने कुनै खेलाडी नहुँदैमा खेलको महत्व र त्यसको इतिहास नमेटिने तर्क गरिरहेका छन्। रियलका कप्तान करिम बेन्जेमा एल क्लासिकोको इतिहास पुरानो रहेकोले यसको चर्चा दिन प्रतिदिन चुलिँदै गएको बताउँछन्।

बेन्जेमा भन्छन्, ‘एल क्लासिकोको इतिहास धेरै पुरानो छ। क्लबमा कुनै खेलाडी परिवर्तन हुँदैमा त्यसको रोमाञ्चकता कम हुन्छ भन्ने रहन्न। कस्ले बार्सिलोना र रियल छाड्यो भन्ने कुराले भन्दा इतिहास र यसको प्रतिस्पर्धा रोचक पक्ष हो। एल क्लासिको अझै विश्व फुटबलमा उत्कृष्ट खेलको रुपमा छ।’

तीन वर्षअघि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर इटालियन क्लब युभेन्ट्स जाँदा पनि यस्तै तर्क र चर्चा भएको थियो। तर एल क्लासिकोको महत्व रत्तिभर घटेको छैन। 

प्रतक्ष प्रशारण डिसहोम एक्सन स्पोर्ट्स एचडीमा
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। बार्सिलोना र रियल म्याड्रिडबीचको ‘एल क्लासिको’ भिडन्त पनि एक्सन स्पोर्ट्स एचडी २ मा प्रतक्ष प्रशारण हुनेछ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका हरेक खेलहरु एक्सन स्पोर्ट्स एचडी २ मा प्रशारण भईरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad