ad ad

कारोबार


पर्यटकलाई प्रकृति र आस्थाको आतिथ्य पस्किरहेको मुस्ताङ

पर्यटकलाई प्रकृति र आस्थाको आतिथ्य पस्किरहेको मुस्ताङ

अपर मुस्ताङकाे मनमाेहक दृश्य। तस्बिर साभारः एक्सपेड रिभ्यु


वसन्त अर्याल
कात्तिक ६, २०७८ शनिबार ८:१६, काठमाडौँ

पदयात्रामा रमाउन होस् कि तीर्थाटन गर्न, घुम्न निस्किनेहरुको मुख्य रोजाइको गन्तव्य बन्नथालेको छ मुस्ताङ।  

मुक्तिनाथ मन्दिर र पदयात्रा मुस्ताङको मुख्य आकर्षण हो। यसबाहेक मनोरम प्राकृतिक भूबनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले त्यहाँ जाने जो कोहीको मन लोभ्याउँछ। 

धार्मिक पर्यटकलाई वर्षौँदेखि स्वागत गर्दै आएको हिमालपारिको जिल्लाले पछिल्लो समय युवापुस्तालाई पनि तान्नथालेको छ।  

यातायातको सुविधासँगै मुस्ताङ अहिले मुख्य आन्तरिक पर्यटकीय गन्तव्य बनेको हो। 

विश्वभर कोभिड महामारी फैलिएसँगै यहाँको पर्यटकीय गतिविधि लामो समय बन्द भयो। तर कोरोनाविरुद्धको खोप लगाउने अभियान नै चलेपछि  महामारीको प्रभाव क्रमशः कम हुँदै गर्दा फेरि मुस्ताङमा आन्तरिक पर्यटक जान थालेका छन्। 

पर्यटन व्यवसायीहरुका अनुसार दशैँअघि सोह्रश्राद्धबाटै यहाँ जाने आन्तरिक पर्यटकको संख्या बढेको छ। 

मुस्ताङको मार्फामा होटल सञ्चालन गरिरहेका व्यवसायी मोहनसिंह लाल चन्द सोह्र श्राद्ध सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या बढेको बताउँछन्। 

‘अहिले राम्रो बुकिङ भइरहेको छ। दशैँतिहारमा लगभग सबै होटल बुक भए’, चन्दले नेपालखबरसँग भने, ‘मानिस सहरमा बस्दा–बस्दा उकुसमुकुस भएका छन्। अहिले भने घुम्न निस्किन थालेका छन्।’

कोभिडको कारण २०२० को सुरुवातबाटै मुस्ताङमा पर्यटक आउन बन्द भएको थियो। तर अहिले फेरि चहलपहल बढ्नथालेसँगै होटलहरु पनि सञ्चालनमा आउनथालेको थियो। फेरि कोरोना संक्रमण बढेपछि वैशाखदेखि निषेधाज्ञा सुरु भयो। त्यसले पनि असर गरेको उनको भनाइ छ। 

‘गत पुसबाट केही होटल सञ्चालनमा आएका थिए। चैते दशैँदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी गरेका थिए’, चन्दले भने, ‘वैशाख १६ देखि लकडाउन सुरु भयो। सबै सुनसान भयो।’


मुक्तिनाथ मन्दिर। तस्बिर : बुद्ध एयर

वर्षमा पुग्छन् साढे ३ लाख पर्यटक 
सामान्य अवस्थामा वर्षेनी करिब ३ लाख आन्तरिक र ६० हजार विदेशी पर्यटक मुस्ताङ पुग्छन्। 

विदेशी पर्यटकमध्ये भारतीय बढी आउने गरेका छन्। जसमा धार्मिक पर्यटक बढी हुने व्यवसायी बताउँछन्। भारतीय पर्यटक मुक्तिनाथ मन्दिरमा दर्शनका लागि जान्छन्। 

‘पछिल्ला वर्षमा भारतीय धार्मिक पर्यटक आइरहेका छन्। घुम्नभन्दा पनि मन्दिरमा जान पाए हुन्थ्यो भन्ने धेरै भारतीय छन्’, चन्दले भने।  

यो वर्ष सोह्रश्राद्धदेखि नै पर्यटक मुस्ताङ जानथालेका हुन्। यो समयमा विशेषगरी धार्मिक पर्यटक बढी जान्छन्। सोह्रश्राद्धमा कागवेनीमा पितृलाई पिण्ड चढाउने गर्छन्। 

माछापुच्छ्रे, धौलागिरि र निलगिरी हिमालको बीचमा पर्ने मुस्ताङ उपल्लो र तल्लो गरी दुई भूगोलमा बाँडिएको छ। तल्लो मुस्ताङमा प्रकृतिप्रेमी र धार्मिक पर्यटक बढी हुन्छन् भने माथिल्लो मुस्ताङमा प्रकृतिसँगै इतिहासमा चासो राख्नेहरु पुग्छन्। 


लाेमान्थाङमा पर्यटक। तस्बिर: हाेलिडेजटुनेपाल। 

घुम्नैपर्ने तल्लो मुस्ताङ : मार्फा टु मुक्तिनाथ 
मार्फा, कागवेनी र मुक्तिनाथ जिल्लाका चर्चित गन्तव्य हुन्। एक दशक अघिसम्म विदेशी पर्यटक बढी हुने यी ठाउँ अहिले आन्तरिक पर्यटकले भरिन्छन्।  

जिल्लाको सदरमुकाम जोमसोममा एयरपोर्टसँगै होटल तथा रेष्टुरेन्ट छन्। जोमसोम करिब २८ सय मिटर उचाइमा काली गण्डकीको किनारमा छ। यहाँबाट दक्षिणी भेकमा पर्ने धौलागिरि र निलगिरि हिमालको राम्रो दृश्य अवलोकन गर्न सकिन्छ। 

त्यस्तै मार्फा वरिपरि पहाडले घेरिएरको सानो उपत्यका हो। यहाँ पर्यटकलाई चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट छन्। मार्फा स्याउ उत्पादनको लागि समेत प्रख्यात छ।  

यता कागबेनीचाहिँ दुई खोलाबीचमा पर्छ। अन्नपूर्ण पदमार्गमा कागवेनी पर्ने कागबेनी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल पनि हो। 

मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनका लागि प्रख्यात छ। मन्दिरभन्दा केहि तलसम्म गाडी जान्छ। मुक्तिनाथ समुद्री सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा छ। 

मुस्ताङका प्रायः होटल स्थानीयको घरमै सञ्चालित छन्। जिल्लाभरिमा ५–६ प्रतिशत बाहिरका व्यवसायीले मात्रै होटल चलाइरहेका छन्। उनीहरुले पनि होटल लिज (भाडा)मा लिएर सञ्चालन गरिरहेका छन्। होटल थोरै भए पनि उनीहरुको लगानी ठूलो छ। 

होटलमा उनीहरुले ४–५ करोडसम्म लगानी गरेका छन्। 


अपर मुस्ताङ। तस्बिर : नेपाल पर्यटन बाेर्ड

माथिल्लो मुस्ताङ अर्थात् नेपालभित्रको ‘लिटल तिब्बत’
आन्तरिक पर्यटक माथिलो मुस्ताङ अर्थात् लोमान्थाङ जाने गर्छन्। यसलाई नेपालभित्रको ‘लिटल तिब्बत’का रुपमा पनि लिइन्छ। लोन्ली प्लानेट नामक संस्थाले विश्वका उत्कृष्ट गन्तव्यको रुपमा मुस्ताङलाई राखिसकेको छ। 

यो ठाउँ विदेशीका लागि पूर्णरुपमा निषेधित रहँदै आएको थियो। सन् १९९२ बाट भने उनीहरुका लागि समेत खुल्ला गरियो। त्यसपछिका केही वर्ष विदेशी पर्यटक गए पनि अहिले आन्तरिक पर्यटक बढी हुने गरेको स्थानीयको भनाइ छ। चाँदी जस्तै टल्किरहने उपल्लो मुस्ताङका हिमालले पर्यटक तान्ने गरेको छ।  

उपल्लो मुस्ताङको रुपमा परिचित लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्ट केही आन्तरिक पर्यटक आउनथालेको बताउँछन्।

‘पहिलाजस्तो त छैन अलि अलि आइरहेका छन्’, उनी भन्छन्, ‘उपल्लो मुस्ताङ आउने नेपाली पर्यटक हुन्। विदेशी आएका छैनन्।’

उपल्लो मुस्ताङमा थकाली, गुरुङ, विष्ट समुदायको बसोबास छ। यसका साथै लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार नै पर्यटकका लागि आकर्षक सम्पदा हुन्। बौद्धमार्गीसम्बन्धी अध्ययन, अनुसन्धान गर्नको लागि उपल्लो मुस्ताङको लोमान्थाङलाई महत्वपूर्ण मानिन्छ। 

‘अपर मुस्ताङमा नेपाली युवा बढी जानथालेका छन्’, व्यवसायी चन्दले भने ‘बाइक नै बोर्डरसम्म जान पाउने हुँदा युवा बढी झुम्मिएका छन्।’

आस्था र प्रकृतिको संगम
मुस्ताङलाई आस्था र प्रकृतिको संगम नै मानिन्छ। प्रकृतिको अनेक रुप त छँदै छ, मुक्तिनाथ मन्दिरले धार्मिक आस्थामा रमाउनेलाई आनन्दानुभूति गराउँछ। 

तिब्बती भाषा मनथाङ हुँदै ‘मुस्ताङ’ नामकरण भएको बताइन्छ। ‘मन’को अर्थ औषधि र ‘थाङ’को अर्थ चौर हुन्छ। यसरी नामकरण भएको मुस्ताङमा दुम्बाताल, कागबेनी, मुक्तिनाथ, मार्फा, दामोदरकुण्ड, लोमान्थाङलगायतका चर्चित गन्तव्य छन्। 

मुस्ताङमा पहिले पहिले मानिस बसोबास गर्ने ऐतिहासिक गुफा पनि छ। अन्नपूर्ण हिमशृंखलाको उत्तरपट्टि रहेको हुँदा यहाँ कम पानी पर्छ। कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड यहाँको अर्को चर्चित पर्यटकीय स्थल हो।

होमस्टेको सुविधा, फापरको ढिँडोको स्वाद 
मुस्ताङको तल्लो भागमा थिनी र स्याङ तथा माथिल्लो भागमा मराङ र लोमान्थाङ होम स्टे सञ्चालनमा छन्। 

जिल्लामा जानेहरुले थकाली समुदायको संस्कृति र इतिहास समेत अध्ययन गर्न सक्छन्। यहाँका विभिन्न ठाउँमा रहेका थकाली सामुदायिक घरवासले पर्यटकलाई आकर्षित गर्छ। झन् फापरको ढिँडो, रोटी, कालो दाल, आलुको परिकारले होमस्टेमा जानेलाई फरक स्वाद दिन्छ। 

मुस्ताङका सबै गाउँमा फापर खेती हुन्छ। यहाँको रैथाने बाली नै फापर हो भने मुस्ताङी आलु नगदेबाली। काठमाडौं, पोखरालगायतका सहरमा समेत मुस्ताङी आलु बिक्री हुन्छ। 

स्याउ उत्पादनमा समेत मुस्ताङ अगाडि छ। प्रसिद्ध मुस्ताङका बगैंचामा दशैँतिहारका बेला लटरम्म स्याउ फल्छन्। घुम्न जानेहरुले बोटैबाट स्याउ टिपेर खान पाउँछन्। स्याउ जोन मुस्ताङको तथ्यांकअनुसार ७० देखि ८० करोडको स्याउ वर्षेनी बिक्री गर्ने गरेको थियो। 

कसरी पुग्ने? कति दिन घुम्ने?
मुस्ताङमा मुख्यतया दशैँतिहार र चैत–वैशाखमा बढी भीड हुने गर्छ। गत वर्ष दशैँ र तिहारको बीचमा खुल्न नसकेको मुस्ताङले यो वर्ष भने पर्यटकलाई स्वागत गरिरहेको छ। 

काप्रे भीरमा पानी पर्दा लेदोले बाटोमा केही समस्या छ। तर गाडी धमाधम गइरहेका छन्। 

बाग्लुङ र म्याग्दीकोबीचका सडकमा समस्या रहे पनि मुस्ताङ पुगेपछि बाटो निकै सहज छ। 

म्याग्दी सदरमुकाम बेनीघाटबाट ६ घण्टा बसको यात्रापछि जोमसोम पुगिन्छ। पोखरादेखि करिब २० मिनेटको हवाइ उडानमा जोमसोम पुग्न सकिन्छ।  

जोमसोमनजिकै रहेको मार्फा पुग्न करिब ३० मिनेट लाग्छ। मार्फादेखि कागवेनी डेढ घण्टा लाग्छ। कागबेनीदेखि मुक्तिनाथ मन्दिर पुग्न २ घण्टा लाग्छ।

मुस्ताङ जिल्ला प्रवेश गरेपछि बाटो सहज छ। कोभिडले बन्द जहाज सेवा सञ्चालन हुनथालेका छन्। पोखराबाट मुक्तिनाथ टार्गेट गरेर जानेहरु ३ दिनमा फर्किन्छन्। अपर मुस्ताङ जानेहरु ५ दिनमा पोखरा फर्किन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .