ad ad

खेल


अलमुताइरीले ‘डेब्यु’को मौका दिएका ८ युवा खेलाडी

अलमुताइरीले ‘डेब्यु’को मौका दिएका ८ युवा खेलाडी

लक्ष्मी जि.सी
कात्तिक ३, २०७८ बुधबार ७:२२, काठमाडौँ

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिन थालेको ६ महिना भन्दा बढी भइसकेको छ। जेठमा इराकविरुद्धको मैत्रीपूर्ण खेल हुँदै विश्व कप तथा एसियन कप छनोट, भारतविरुद्धको दुई मैत्रीपूर्ण खेल र गत साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपसम्म आइपुग्दा अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले ११ खेल खेलिसकेको छ।

उनको प्रशिक्षणमा नेपाली टोलीको प्रदर्शनमा सुधार भएको मान्नेहरुको संख्या ठूलै छ। सामाजिक सञ्जालमा उनको पोस्ट हेर्ने हो अधिकांश प्रतिक्रिया अलमुताइरीको तारिफमै देखिन्छन्। मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि उनी चर्चामा रहने गरेका छन्। खरो प्रतिक्रिया र अखिल नेपाल फुटबल संघ (एन्फा) कै पदाधिकारीसँगको विवादका कारण पनि उनी चर्चामा रहने गरेका छन्।

सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपको १३ औँ संस्करणसम्म आइपुग्दा नेपाल पहिलो पटक अलमुताइरीकै प्रशिक्षणमा फाइनल पुगेको थियो। तसर्थ उनका समर्थक बढ्नु स्वभाविक देखिन्छ।

नेपाली टोलीलाई यो सफलता दिलाउन अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गरेका छन्। साफ च्याम्पियनसिपलाई नै मुख्य लक्ष्य बनाएर ६ महिना अघिबाट तयारी थालेका उनले युवा खेलाडीमा भरोसा देखाएका छन्। उनले टोली सम्हालेयता ८  खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। त्यसमध्ये केही खेलाडी पहिलो रोजाइमा नियमित खेल्न थालेका छन्।

चैतमा अलमुताइरीले टोली सम्हाल्दा पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) चलिरहेको थियो। राष्ट्रिय टोलीमा त्यसअघिबाट रहेकाबाहेक एनएलएलमा उच्च प्रदर्शन गरेका खेलाडीलाई उनले प्रशिक्षणमा डाके। टोलीको अन्तिम छनोट गर्दा पनि उनले कतिपयलाई आश्चार्यमा पार्दै युवा खेलाडीलाई मौका दिएका थिए। उनको विश्वासमा युवा खेलाडी खरो उत्रिए। आफूले पाएको मौकालाई खेलाडीले पनि खेर जान दिएनन्। अलमुताइरी प्रशिक्षक बनेपछि डेब्यु गर्ने आठ खेलाडीका बारेमा यहाँ चर्चा गरिन्छः

विशाल श्रेष्ठ (गोलरक्षक) 
राष्ट्रिय टोलीमा परेर पनि एक दशक बेन्चमै थन्किएका गोलरक्षक विशाल श्रेष्ठले भदौमा भारतविरुद्ध स्वदेशमा भएको मैत्रीपूर्ण खेलमा डेब्यु गर्ने मौका पाए। साफ च्याम्पियनसिपअघि नेपालले घरेलु मैदानमा भारतसँग दुुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल एक एक को बराबरी गरेको नेपालले दोस्रो खेल २–१ ले गुमाएको थियो।

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा विशालले टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको स्थान लिँदै राष्ट्रिय टोलीमा डेब्यु गरे। एक दशकको प्रतीक्षापछि विशाल खेलको ८६ औँ मिनेटमा मैदानमा उत्रिएका थिए।

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका गोलरक्षक समेत रहेका विशाल सन् २०११ मा विश्वकप छनोटका दौरान पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए।​


मनिष डाँगी (मिडफिल्डर)
विश्वकप छनोटअघि नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। इराकको घरेलु मैदानमा भएको खेलमा नेपाल ६–२ ले पराजित भए पनि मनिष डाँगीले डेब्यु खेलमा नै गोल गरे।

राष्ट्रिय टोलीमा परेको पहिलो पटक नै मनिषले डेब्यु गर्न सफल भए। अझ डेब्यु खेलमा नै गोल गर्दै उनले सम्झनलायक प्रर्दशन गरे। 

विराटनगर सिटी एफसीबाट एनएसएल खेलेका मनिषको त्यहि प्रदर्शनबाट प्रभावित भएर अलमुताइरीले राष्ट्रिय टोलीमा समेटेका हुन्। राष्ट्रिय टोलीबाट ७ खेल खेलिसकेका मनिषले २ गोल गरेका छन्। इराकसँग डेब्यु गोल गरेका मनिषले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० ले हराउँदा गोल गरेका थिए।

उमेर समूहमा यू १९ को जर्सी समेत लगाइसकेका मनिष अहिले यू २३ को पनि सदस्य छन्। खालीबारी एफसीबाट सी डिभिजन र मोफसलका प्रतियोगितामा उनले थ्री स्टारबाट पनि खेलेका थिए।

आयुष घलान (मिडफिल्डर)
पोखरा थन्डर्सबाट पहिलो फ्रेन्चाइज लिग एनएसएलमा उत्कृष्ट प्रर्दशन गरेका आयुषले छोटो समयमा नै राष्ट्रिय टोलीको यात्रा तय गरे। एनएसएलमा आयुषलाई पोखराले ट्यालेन्ट हन्टमार्फत टोलीमा राखेको थियो।

आयुषले विश्वकप छनोट तथा एसियन कपको छनोटको खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गरेका थिए। आयुष घलान इन्जुरी समयमा सुमन लामाको स्थान लिँदै मैदान प्रवेश गरेका थिए।

आयुषले कतारको दोहास्थित कतार युनिर्भसिटी स्टेडियममा भएको ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। त्यस्तै साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–२ ले हराउँदा आयुषले तेस्रो गोल गरेका थिए ।


 कमल थापा (मिडफिल्डर)
एन्फा एकेडेमीका उत्पादन कमल थापाल उमेर समूहमा नेपाली टोलीका लागि खेलिसकेका थिए। फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलमा कमलले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। कमलले विशाल राईको स्थान लिँदै टोलीमा डेब्यु गरे।

एनएसएलमा पोखरा थन्डर्सबाट खेलेका कमलको खेल शैलीबाट प्रभावित भएर प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाएका थिए। विमल घर्ती मगर, अनन्त तामाङ, अन्जन विष्टको ब्याचका उनले घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका छन्।


 गौतम श्रेष्ठ (डिफेन्डर)
राष्टिय टोलीमा परेको छोटो समयमा नै गौतम श्रेष्ठले डेब्यु गरे। इाकविरुद्धको मैत्रीपूर्ण खेलमा गौतम र मनिषले डेब्यु गरेका थिए।

त्रिभुवन आर्मी क्लबका डिफेन्डर गौतमले एनएसएलमा पोखरा थन्डर्सबाट खेलेका थिए। एनएसएलअघि गौतमले त्रिभुवन आर्मी फुटबल क्लबबाट एएफसी कप छनोट तथा किर्गिस्तानविरुद्ध प्रभावशाली प्रर्दशन गरेका थिए। गौतमले ए डिभिजन लिगमा जावलाखेल क्लबबाट खेलेका थिए। गौतम अहिले राष्ट्रिय टोलीको पहिलो रोजाइका खेलाडी हुन्।

नितिन थापा (मिडफिल्डर)
मिडफल्डर नितिन थापाले घरेलु मैदानमा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग घरेलु मैदानमा २ मैत्रीपूर्ण खेल खेलेको थियो। सोही खेलमा नितिनले ८५ औँ मिनेटमा तेज तामाङलाई विस्थापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरे।

उमेर समुहमा नेपाली टोलीबाट खेल्दै आएका नितिनले राष्टिय टोलीमा परेको पहिलो पटकमा नै डेब्युको मौका पाए।एन्फा एकेडेमीका उत्पादन नीतिनले गत जेठमा सम्पन्न एनएसएलमा पोखरा थन्डर्सबाट खेलेका थिए। ए डिभिजन क्लव च्यासल युथ क्लब, संकटा र मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दै आएका छन्।


 सुरज जिउ ठकुरी (मिडफिल्डर)
पहिलो पटक राष्ट्रिय टोलीमा परेका सुरज जिउ ठकुरीले पनि तुरुन्तै डेब्युको मौका पाए। फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अस्ट्रेलियासँगको खेलमा सुरज एरिक विष्टको ठाउँ लिँदै मैदान उत्रिएका थिए।

एनएसएलमा विराटनगरबाट खेलेका थिए सुरजले अन्तिम ३ खेलमा मौका पाए। छोटो समयमा नै आफूलाई प्रमणित गर्दै उनी प्रशिक्षक अलमुताईरीको नजरमा परे। सुरजले ए डिभिजनमा जावलाखेल क्लबबाट खेलेका थिए।


 
राजन गुरुङ (डिफेन्डर)
साफ च्याम्पियनसिपअघि घरेलु मैदानमा भएको भारतसँगको दुई मैत्रीपूर्ण खेलबाट डिफेन्डर राजन गुरुङले राष्ट्रिय टोलीबाट डेब्यु गरे। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा राजनले ८६ औँ मिनेटमा मनिष डाँगीलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए।

एन्फा एकेडेमीका उत्पादन राजन घरेलु फुटबलमा विभागीय नेपाल एपीएफ क्लबबाट खेल्दै आएका छन्। एनएसएलमा काठमाडौं रेजर्सबाट खेलेका राजनले आफ्नो प्रर्दशनबाट प्रशिक्षकलाई प्रभाव पारेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .