ad ad

खेल


बेइजिङ विन्टर ओलम्पिक आउनै लाग्यो, नेपालको सहभागिताको के छ तयारी?

बेइजिङ विन्टर ओलम्पिक आउनै लाग्यो, नेपालको सहभागिताको के छ तयारी?

यज्ञराज जोशी
असोज ३०, २०७८ शनिबार १५:३३, काठमाडौँ

आगामी फेब्रुअरी पहिलो सातादेखि चीनको राजधानी बेइजिङमा सुरु हुने विन्टर ओलम्पिकमा नेपालले सहभागिता जनाउने कि नजनाउने अझै टुंगो लागिसकेको छैन। 

ओलम्पिक सुरु हुन साढे ३ महिना बाँकी रहेपनि नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ यसपल्ट सहभागिताको कुनै सुनिश्चितता नरहेको बताउँछन। 

‘बेइजिङमा विन्टर ओलम्पिक नजिकै त आउन लाग्यो। तर नेपालको सहभागिताको अहिलेसम्म टुंगो छैन,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘कोरोनाका कारणले खेलाडीले च्याम्पियनसिप खेल्न पाएका छैनन। अब च्याम्पियनसिप(छनोट) खेल्ने सम्भावना त छ तर ओलम्पिकमा सहभागिताको टुंगो छैन।’

विन्टर ओलम्पिकमा हिउँमा खेलिने खेलहरु खेलिन्छ। नोभेम्बरमध्य पछि यूरोपमा हिउँहरु पर्ने सिजन सुरु हुन्छ। त्यसैले यसपटक नेपाली खेलाडीहरु च्याम्पियनसिपमा सहभागिताका लागि इटाली जाने सम्भावना छ। 

बेइजिङ विन्टर ओलम्पिकमा यसपल्ट ७ खेलका १५ विधा र त्यसका १०९ इभेन्टहरु हुँदैछन। नेपालमा हिउँ परेपनि माथिल्लो भु–भागमा मात्रै पर्छ। जहाँ न प्रशिक्षण गर्ने व्यवस्था छ, न पुग्ने बाटो घाटो नै। विन्टर स्पोर्टसका लागि ठूलो लगानी पनि आवश्यक पर्ने भएकाले यी खेलहरु राज्यको प्राथमिकतामा पनि छैनन्।   

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठका छोरा सफलराम श्रेष्ठ व्यक्तिगत प्रयासमा विन्टर ओलम्पिकमा जाने तयारीमा छन। उनले स्कीको अल्पाइन विधामा सहभागिताका लागि यसपल्ट अवसर खोजिरहेका छन। 

त्यसका लागि उनले यूरोपमा हुने छनोट प्रतियोगितामा कम्तीमा आफ्नो स्कोर घटाउँदै १६० पुर्याउनुपर्छ। हाल उनको स्कोर २४० को हाराहारीमा छ। त्यसलाई घटाउँदै १६० सम्म ल्याउनु उनको मुख्य चुनौती हुनेछ। सफलरामसँगै नेपाली ३–४ सदस्यीय टोली छनोट खेल्न इटाली जाने सम्भावना रहेको नेपाल स्की संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले बताए। 

‘हाम्रो ओलम्पिकमा भाग लिने प्रयास चाँही हुनेछ,’ श्रेष्ठले भने, ‘त्यसका लागि खेलाडीले छनोट चरण पार गर्नुपर्छ। त्यसमा तोकिएको प्वाइन्ट ल्याउन सकियो भने नेपालको सहभागिता हुने हो। त्यसमा सफलरामको सम्भावना बढी छ।’

इटालीमा नेपालका एकजना ट्रेनर पनि रहेको र उनले नै नेपाली खेलाडीलाई छनोटका लागि तयार पार्ने श्रेष्ठले बताए। 

ओलम्पिकमा १५ भित्र पर्ने मेरो लक्ष्य हुनेछ​ : सफलराम 
विन्टर ओलम्पिकमा नेपालबाट सम्भावना बोकेका एकमात्रै खेलाडी सफलराम श्रेष्ठले स्कीमा प्रतिस्पर्धा गर्दै आएका छन। तर हाल उनको स्कोर २४० को हाराहारीमा छ। विन्टर ओलम्पिकमा सहभागिताका लागि उनले उक्त स्कोर सुधार्दै १६० सम्म पुर्याउनुपर्ने हुन्छ। 

‘अब छनोटको तयारी सुरु गर्नुपर्ने हुन्छ। केही प्वाइन्ट पुगेको छैन। त्यसको लागि जानुपर्छ,’ सफलरामले भने, ‘अहिले सम्भावना कस्तो छ भनिहाल्न मिल्दैन। कोभिडले आराम र खेल्ने समय दुवै कम भएको छ। छनोट कस्तो हुन्छ थाहा छैन।’

छनोटमा सहभागिताका लागि नेपाली टोलीले इटाली जार्नुपर्ने हो। तर अहिलेसम्म हिउँ नै नपरेका कारण छनोटमा सहभागिताको पनि सुनिश्चित छैन। हिउँ परेमा नोभेम्बरमध्यसम्म प्रशिक्षणमा जाने नेपाली टोलीको तयारी छ। 

यसअघि उनले नर्वेमा २०१६ मा भएको युथ विन्टर ओलम्पिकमा सहभागिता जनाइसकेका छन। नेपालमा विन्टर ओलम्पिकमा हुने खेलहरुको प्रशिक्षण केन्द्र नै नभएकाले ओलम्पिक खेलहरु जस्ता ठूलो प्रतियोगितामा तत्काल पदकको अपेक्षा गर्न नसकिने उनी बताउँछन।  

‘नेपालमा हिउँ पनि पर्दैन। परेपनि निकै उचाईमा पर्छ। त्यहाँ बाटोघाटो छैन। प्रशिक्षण केन्द्र ​छैन। वर्षमा दुई महिनापनि मुस्किलले प्रशिक्षण गर्न पाइन्छ,’ उनी भन्छन्, ‘त्यसकारण ओलम्पिक खेल्ने सम्भावना एकदमै कम हुन्छ। राम्रो गर्छु भन्ने आशा छ।’

उनले छनोटचरण पार गर्न सके सहभागितामा मात्रै आफूलाई सीमित नराख्ने अठोट गरेका छन। कम्तीमा शीर्ष ३० भित्र रहने गरी सहभागिता जनाउने उनले आशा व्यक्त गरे। 

‘छनोट भए भने सहभागितामा मात्रै सीमित नहोला। राम्रो नतिजा ल्याउन सकिन्छ,’ उनले भने, ‘धेरै कुराहरु तापक्रम, हिउँमा भरपर्छ। राम्रो मान्छे जित्छ भन्ने पनि केही छैन। शीर्ष ३० भित्र पर्न सकियो भने पनि उसलाई राम्रो खेलाडी मानिन्छ। कम्तीमा शीर्ष ३० नत्र १५ भित्र पर्ने मेरो लक्ष्य हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .