ad ad

राजनीति


कसरी भयो– कांग्रेस, पुलिस र रेडियोले बोल्ने ‘जय नेपाल’ शब्दको प्रयोग?

कसरी भयो– कांग्रेस, पुलिस र रेडियोले बोल्ने ‘जय नेपाल’ शब्दको प्रयोग?

केशव सावद
असोज ३०, २०७८ शनिबार १४:१०, काठमाडौँ

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु एकले अर्काेलाई अभिवादन गर्दा प्रयोग गर्ने शब्द हो– जय नेपाल। यो शब्द सुन्ने वित्तिकै नेपालीको मस्तिष्कले समान धारणा बनाउँछ– कि नेपाली कांग्रेसको नेता–कार्यकर्ता हो, कि यो मान्छे पुलिसको हो।

कसरी सुरु भयो त ‘जय नेपाल’ शब्दको प्रयोग? कांग्रेसका पुराना नेता तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेत संस्थापक नेताहरुले भारतको ‘जय हिन्द’ बाट प्रभावित भएर ‘जय नेपाल’ भन्न सुरु गरेको बताउँछन्।

जहानियाँ राणा शासनका बेला काठमाडौंलाई मात्र नेपाल भनिन्थ्यो । तर, २००७ सालको क्रान्तिपछि कांग्रेस नेताहरुले काठमाडौंमात्र नभइ मेचीदेखि महाकालीसम्मको सबै क्षेत्रलाई नेपाल भन्नुपर्छ भनेर आन्दोलनका रुपमा ‘जय नेपाल’ भन्न थालेका बस्नेतको भनाइ छ। 

‘नेपाललाई त्यो बेला गोरखा सरहद पनि भनिन्थ्यो। अनि काठमाडौंलाई मात्र नेपाल भनिथ्यो। पछिसम्म पनि त्यो थियो। हामीभन्दा अघिल्लो पुस्ताले काठमाडौंलाई मात्र नेपाल भन्थे। बीपी र नेपाली कांग्रेसका अरु सबैलाई के लाग्यो भने नेपाल भनेको काठमाडौंमात्र होइन,’ बस्नेतले भने, ‘काठमाडौंलाई काठमाडौं भन्नुपर्छ। यो देशको राजधानी हो। नेपाल भनेको सबै भन्नुपर्छ भनेर त्यसलाई आन्दोलनकै रुपमा २००७ सालको क्रान्तिदेखि जय नेपाल भनिन सुरु गरिएको हो।’  

‘जय नेपाल’ शब्द कतैबाट सापटी लिएको नभएर यसको स्थापना र देशव्यापी बनाउने कांग्रेस नै भएको नेता अर्जुनरसिंह केसीको भनाइ छ। पार्टी स्थापनाको पहिलो दिन २००३ माघ १२ मा ‘नेपाली राष्ट्रिय कांग्रेस’ ले नेपालका चार सहिदप्रति पहिलोपटक श्रद्धाञ्जली अर्पण र ‘जय नेपाल’ को पुकारलाई कांग्रेसको अभिवादन मान्ने विधिवत् परम्पराको थालनी गरेको उनले उल्लेख गरे। 

२०७६ जेठ २ मा अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित नेता केसीले ‘जय नेपाल अभिवादन र इतिहास’ शीर्षकको लेखमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को भावना ‘जय नेपाल’ मा अन्तरनिहित रहेको उल्लेख गरेका छन्। 

‘सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने र देशभक्तिको भावना जागृत गराउने अभियानस्वरुप ‘जय नेपाल’ अभिवादन पनि अपनाइएको थियो’, केसीले भने, ‘राणा निरंकुशताको अन्त्य, जनक्रान्तिको तयारी गरिरहेको कांग्रेसले राष्ट्रिय एकता, राष्ट्रिय जागरण र देशभक्तिको प्रतीक ‘जय नेपाल’ लाई अपनायो।’

केसीका अनुसार २००७ सालको क्रान्तिमा यो अभिवादन क्रान्तिघोष (ब्याटल क्राई) का रूपमा थियो भने क्रान्तिपछि राष्ट्रिय अभिवादनकै रूपमा कांग्रेसबाटै स्थापित हुँदै आयो।

केसीले राणाकालका चार सहिदमध्येका शुक्रराज शास्त्री र दशरथ चन्दलाई अभिवादन गर्ने क्रममा कांग्रेसले ‘जय नेपाल’ शब्द आफ्नो मूल मन्त्रका रूपमा उच्चारण गर्न थालेको दाबी गरेका छन्। 

१९९७ साल माघ ६ गते शुक्रराजलाई फाँसीको सजाय घोषणा गरिएपछि राणाहरूले ‘तिम्रो अन्तिम इच्छा के छ?’ भनी सोध्दा शुक्रराजले ‘जय नेपाल’ भनेका केसीले बताएका छन्। र, सहिदले ‘जय नेपाल’ को परम्परा यसरी नै प्रारम्भ गरेको उनको भनाइ छ। 

तर, लेखक बस्नेतले चार सहिदमध्येका शुक्रराज शास्त्रीले ‘जय नेपाल’ शब्दको प्रयोग सबैभन्दा पहिले गरेको भन्ने बारे केही प्रमाण नभएको बताए। 

‘शुक्रराज शास्त्रीले सुरु गरेको भन्ने पनि छ,’ उनले भने, ‘तर, त्यसको रेकर्ड केही छैन।’

‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ पुस्तकका लेखक डा. राजेश गौतमले पनि ‘जय नेपाल’ शब्द सहिद शुक्रराज शास्त्रीले भन्न सुरु गरेको दाबीबारे आफूलाई जानकारी नभएको बताए। 

‘सहिद शुक्रराज शास्त्रीले ‘जय नेपाल’ भनेको कुरा मलाई स्मरण छैन,’ उनले नेपालखबरसँग भने। 

डा. गौतम ‘जय नेपाल’ शब्दको सुरुवात कवि गोपालप्रसाद रिमालले सुरु गरेको बताउँछन्। ‘जय नेपाल’ धार्मिक शब्द भएको र राजनीतिक रुपमा यसको सुरुवात रिमालले गरेको उनको भनाइ छ। 

‘जय नेपाल’ शब्दको सुरुवात गोपालप्रसाद रिमालले गर्नुभएको हो। यो १९९७ सालपछि– २००२/०३ पहिलेको कुरा हो*। रिमाल साथी–साथीका बीचमा जय नेपालको प्रयोग गर्नुहुन्थ्यो,’ डा. गौतमले भने, ‘राजनीतिक रुपमा रिमालजीहरुले सुरु गर्नुभएको हो। २००७ सालपछि कांग्रेसले यो शब्दको प्रयोग सुरु गरेको हो।’

कांग्रेस नेता केसीले पनि कवि रिमाललाई नेपालमा ‘जय नेपाल’ को अभिवादन चलाउने पहिलो व्यक्तिका रुपमा चित्रित गरेका छन्। उनका अनुसार २००३ सालमा तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसका नेताहरू बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीका बीच चलेको राजनीतिक विवाद मिलाउन रिमाल बनारस नै पुग्नुभएको थियो। उताबाट फर्केपछि देशभित्र अभियानका रूपमा यो अभिवादन चलाउने पहिलो व्यक्ति उनै थिए। 
बस्नेत चाहिँ रिमालले ‘जय नेपाल’ शब्द प्रयोग गरेको बारे कुनै ‘रेकर्ड’ नभएको जिकिर गर्छन्। 

‘गोपालप्रसाद रिमाल, शुक्रराज शास्त्रीले ‘जय नेपाल’ शब्द स्थापित गरेको भन्ने पनि छ। तर, त्यसको रेकर्ड केही छैन,’ उनले केही दिनअघि एक अन्तर्वार्तामा भनेका छन्। 

बस्नेतकाअनुसार कांग्रेसको तत्कालीन ‘मुक्ति सेना’ का लडाकुहरुले एक अर्कालाई ‘जय नेपाल’ को अभिवादन आदान–प्रदान गर्दथे। त्यसकै प्रभाव स्वरुप प्रहरीले पनि अभिवादनका क्रममा ‘जय–नेपाल’ भन्न सुरु गरेको उनको भनाइ छ। ‘मुक्ति सेनाका धेरै कमान्डर नेपाल प्रहरीमा गए, प्रहरीमा त्यसकै प्रभाव परेको हुन सक्छ,’ बस्नेतले भने। 

२००७ सालको क्रान्ति सम्पन्न भएपछि कांग्रेस नेतृत्वको मुक्ति सेना ‘रक्षा दल’ हुँदै नेपाल प्रहरीमा समायोजन भयो। ती क्रान्तिकारीले आफ्नो अभिवादन ‘जय नेपाल’ नेपाल प्रहरीमा प्रवेश गराएको कांग्रेस नेता केसीको भनाइ छ। 

‘प्रहरीमा यो अभिवादन कांग्रेसबाटै गएको हो। नेपाल प्रहरीले नित्य निरन्तर आफ्नो सलामीको रूपमा जय नेपाल नै भन्ने गरेको छ,’ उनले भने। 
डा. गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग–१’ मा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले दोस्रो पटक गिरफ्तार हुँदा तत्कालीन शासकहरुसँग ‘जय नेपाल’ शब्द प्रयोग गरेको उल्लेख छ। 

‘हरेकबाजी बाबुबाजेको नाम सोधिँदा, जवाफमा उनी जय नेपाल भन्थे। कसैलाई पनि नपोलेबापत उनले बेगिन्ती कोर्रा खाए। तीन–चार जना अठपहरियाको आलोपालोसँग रोज कोर्रा खाँदा–खाँदा खुट्टा पटपटी फुटेका गणेशमानलाई सिंहरबारको बिजुली गारतबाट पुतली बगैँचाको काठघर पु¥याउन घण्टौं लाग्दथ्यो,’ पुस्तकमा उल्लेख छ। 

डा. गौतमले तत्कालीन राजा त्रिभुवन र कांग्रेसका नेता स्वदेश फर्केको दिनदेखि राणाहरुलाई गरिने ‘सलाम’, ‘स्वस्ती’, को सट्टा ‘नमस्कार’ र ‘जय नेपाल’ भन्न थालिएको पुस्तकमा उल्लेख गरेका छन्। 

‘सोही दिन बेलुकी नारायणहिटी राजदरबारबाट निस्कने प्रत्येक उच्च कर्मचारीहरु र भारदारहरुलाई नीरविक्रम प्यासी, बद्रीनाथ जस्ता नवयुवकहरुले जय नेपाल नभनाई ढोकाबाट अगाडि बढ्न नै दिएनन्,’ उनले २००४ साल फागुन ४ गते तत्कालनि राजा त्रिभुवन र कांग्रेसका नेता भारतबाट स्वदेश फर्किएको दिनको स्मरण गर्दै पुस्तकमा लेखेका छन्, ‘एउटा नयाँ उमंग र उत्तेजनाले त्यस दिन नेपाल भरिएको थियो। वास्तवकमा भन्ने हो भने नेपाली जनतालाई सोही दिन नै प्रजातन्त्र प्राप्त भइसकेको भान भएको थियो।’ 

रेडियो नेपाल अहिले पनि दिनको सुरुवात ‘जय नेपाल’ बाट गर्छ। कांग्रेसले नेतृत्व गरेको क्रान्तिको समयमा तारिणीप्रसाद कोइरालाले विराटनगरमा खोलेको प्रजातन्त्र रेडियोले ‘जय नेपाल’ भनेर प्रशारण सुरु गर्दथ्यो। पछि त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरिएको बस्नेत बताउँछन्।

२००७ साल मंसिर २८ गते बिहान ८ बजे प्रजातन्त्र नेपाल रेडियो (अहिलेको रेडियो नेपाल) स्थापना भइ क्रान्तिका कार्यक्रम प्रसारण गर्न सुरु भएको थियो। २००७ सालको क्रान्तिले जन्माएको रेडियो नेपालको पहिलो प्रसारण वाक्य थियो, ‘जय नेपाल! प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको पहिलो अभिवादन ! हामी नेपालको मुक्त क्षेत्र विराटनगरबाट प्रजातन्त्रको सन्देश सुनाउन लागेका छौं।’

राष्ट्रियता बोकेको प्रजातान्त्रिक अभिवादन ‘जय नेपाल’ अहिले पनि रेडियो नेपालले प्रसारणको सुरुवातमा अभिवादनको रूपमा उद्घोष गर्दै आएको छ।

२००७ सालको क्रान्तिताका राजा त्रिभुवनले पहिले ‘अल इन्डिया रेडियो’ र पछि ‘नेपाल प्रजातन्त्र रेडियो’ दुबैबाट देशवासीका नाममा सन्देश दिँदा अत्यमा ‘जय नेपाल’ अभिवादन गरेका थिए। राजा त्रिभुवनको उक्त सन्देशलाई अन्तिम रूप दिने कांग्रेस नेताहरू नै भएकाले त्यसो भएको कांग्रेस नेता केसीको भनाइ छ। 

*सच्याइएको। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .