भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालविरुद्ध हुने खेल कठिन रहेको बताएका छन्।
शनिबार हुन लागेको साफको उपाधि भिडन्तअघि शुक्रबार प्री-म्याच कन्फरेन्समा पत्रकारहरुसँग कुरा गर्दै वेंकटेशले नेपालविरुद्धको खेल कठिन रहेको प्रतिक्रिया दिएका हुन्।
'फाइनल यात्रा तय गरेकोमा हामी खुसी छौँ । उपाधिका लागि हामी एक खेल पर छौँ', उनले भने, 'हाम्रा केटाहरु सकारात्मक ऊर्जासहित तयार छन्। नेपालले समूह चरणमा नेपालले राम्रो नजितासहित खेलेको थियो। नेपालको टिम कन्फिडेन्स र मोटिभेटेड छ। फाइनल खेल हाम्रा लागि कठिन छ।'
सहायक प्रशिक्षक वेंकटेशले समूह चरणका खेलहरुमा आफूहरुले गल्ती गरेको बताउँदै तर फाइनलमा त्यसलाई दोहोरिन नदिने पनि बताएका छन्।
'फाइनलमा पुगेकाले दुवै टिम मोटिभेटेड छन्। हाम्रा केटाहरु पनि सकारात्मक ऊर्जासहित तयार छन्। हामी कन्फिडेन्ट छौँ तर ओभरकन्फिडेन्ट होइन,' उनले भने, 'हामी आफ्नो योजनामा अडिग छौँ। भोलि नयाँ खेल हुनेछ, हामी आफ्नो खेलमा ध्यान दिन्छौँ। हामीले सुरुवातका दुई खेलमा बराबरी खेलेर त्यसबाट पाठ सिक्यौँ। हाम्रो टोलीले पछिल्ला दुई खेलमा राम्रो गरेकाले उत्साहित पनि छौँ।'
नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो। उता सबैभन्दा धेरै पटक उपाधि जितेको भारत पनि उच्च मनोबलमा छ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल भिडन्त नेपाली समयअनुसार शनिबार राति पौने ९ बजे सुरू हुँदैछ।
त्यसैगरी भारतीय मिडफिल्डर लालेन्ग्मिया राल्टेले पनि साफ च्याम्पियनसिपको उपाधि जित्न सबै प्रयास गर्ने बताए ।
'सुरुवातका दुई खेलमा बराबरीले हामीलाई गाह्रो भयो। त्यसले सबै निराश भए। हामीले त्यही गल्तीबाट सिकेर अघि बढ्यौँ', उनले भने, 'गल्तीबाट सिकेर अघि बढेकाले हामी खुसी छौँ। फाइनलका लागि साथीहरु मोटिभेटेड छन्। साफ च्याम्पियनसिप जित्न सक्दो प्रयास गर्छौँ।'
Shares
प्रतिक्रिया