खेल


भारतको कठिन दौडमा नेपालकी रसिलाले जितिन गोल्ड मेडल

भारतको कठिन दौडमा नेपालकी रसिलाले जितिन गोल्ड मेडल

नेपालखबर
असोज २५, २०७८ सोमबार १२:२५, काठमाडौँ

भारतको सबैभन्दा कठिन मानिने अल्ट्रा रेसमा नेपालकी रसिला तामाङले गोल्ड मेडल जितेकी छन्। 

भारतको हिमाञ्चल प्रदेशस्थित मनालीको सोलाङ पहाडमा आइतबार भएको रेसमा महिलातर्फ नेपाली युवती रसिला तामाङ प्रथम भएकी हुन्।  

द हेल रेसले आयोजना गरेको ६० किलोमिटर लामो ‘सोलाङ स्काइ अल्ट्रा रेस’ रसिलाले १० घन्टा ४९ मिनेट ३ सेकेण्डमा पुरा गरी प्रथम भएकी हुन्। उनकी प्रतिस्पर्धी तेन्जिङ डोल्मा ११ घन्टा १३ मिनेट २३ सेकेन्डमा रेस पुरा गरी दोस्रो भएकी थिइन्। 

रसिलाले आइतबार साँझ गोल्ड मेडल उपाधी पाएकी छन्।

‘नेपालका लागि यो उपाधी हासिल गर्दा निकै खुसी छु’, रसिलाले नेपालखबरसँग भनिन्, ‘तर रेसमा दुई हजार, तीन हजार आठ सय र फेरि तीन हजार चार सय मिटर अग्ला पहाड चढ्न भने निकै कठिन थियो।’

रसिलाले अल्ट्रा रेसमा यसअघि चीन, हङकङ, नेपालमा उपाधी जितिसकेकी छन्। 

यो रेस भारतको सबैभन्दा कठिन अल्ट्रा म्याराथन मानिन्छ, जुन प्रायः अल्पाइन क्षेत्रमा हुने गर्दछ। ६० किलोमिटर लामो यो रेस समुद्री सतहको दुई हजार चार सय मिटर उचाइबाट सुरु भएर तीन वटा पहाड नाघेर चार हजार नौ सय मिटरसम्म पुग्छ। 

त्यहीँ भएको सय किलोमिटर अल्ट्रा रेसमा नेपालकै जीवन लामा दोस्रो भएका छन्। यो रेस पनि समुद्री सतहको दुई हजार चार सय मिटर उचाइबाट सुरु भएर चार हजार एक सय ७५ मिटर उचाइमा पुगेर अन्त हुन्छ। 

सय किलोमिटर अल्ट्रा रेसमा भारतका शास्वत राव प्रथम भएका छन्। उनले २२ घन्टा २६ मिनेट २१ सेकेन्डमा रेस पुरा गरेका थिए भने दोस्रो भएका जीवन लामाले २३ घन्टा ११ मिनेट ३५ सेकेन्डमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad