माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा बलियो टोली भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको छ।
मालेस्थित राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेपछि त्यसको फाइदा नेपाललाई भएको छ।
खेलभर बलमाथिको पकड अधिकांश समय राख्न सके पनि भारतको अग्रपंक्तिले गोल गर्न सकेन। केही राम्रा मौका पनि भारतले खेर फालेको थियो।
जारी साफमा भारतले लगातार दुई खेलमा बराबरी खेलेको छ। यसअघि भारतले आफ्नो पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा पनि बराबरी गरेपछि भारतले २ खेलबा६ २ अंक मात्रै जोडेर तालिकाको तेस्रो स्थानमा छ।
उता श्रीलंकाले भने जारी साफमा अंकको खाता खोलेको छ। एक अंकसँगै श्रीलंका चौथो स्थानमा छ।
यसअघि श्रीलंका नेपालसँग पनि पराजित भएको थियो। भारत र श्रीलंकाको बराबरीले नेपाललाई फाइदा पुगेको छ ।
नेपाल २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। भारत दुई अंकमा सीमित भएपछि नेपालको उपाधि यात्रा पनि केही सहज हुन देखिएको छ।
Shares

प्रतिक्रिया