माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उपाधि दाबेदार भारतले बंगलादेशसँग बराबरी खेलेको छ।
१० खेलाडीमा सीमित भएर पनि बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको हो।
राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसकेपछि भारतले अंक बाँड्न बाध्य भएको छ।
खेलको २६ औं मिनेटमा चर्चित स्ट्राइकर सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो। खेलको ७४ औं मिनेटमा यसीन अराफतले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए।
यसअघि खेलको ५४ औं मिनेटमा डिफेन्डर विश्वनाथ घोसले रातो कार्ड खाएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो।
त्यसका बावजुद बंगलादेशले भारतलाई बराबरीमा रोक्न सफल भयो। यो बराबरीसँगै बंगलादेशले २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। उता भारतले भने पहिलो खेलमै बराबरीबाट साफ यात्राको सुरुवात गरेको छ।

Shares

प्रतिक्रिया