इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा एफसी पोर्टोमाथि सानदार जित निकालेको छ।
मंगलबार राति भएको खेलमा इजिप्टका मोहम्मद सलाह र ब्राजिली रोबर्टो फिर्मिनो चम्केपछि लिभरपुलले एफसी पोर्टोलाई ५–१ को फराकिलो अन्तरमा पाखा लगाएको हो।
लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान दुई गोल तथा साडियो मानेले एक गोल गरे। पार्टोका मेहेदी तारेमीले सान्त्वना गोल गरे।
खेलको १८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुरलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा साडियो मानेको गोलमा लिभरपुलले २–० को अग्रता बनाएको थियो।
६०औं मिनेटमा सलाहले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७४ औँ मिनेटमा पोर्टोका मेहेदी तेरेमीले फावियो भिइराको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।
८१औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अघि बढ्यो।
जितसँगै लिभरपुल २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। पराजित पोर्टो १ अंकमा तेस्रो स्थानमा छ।
गएराति नै भएको समूह ‘बी’ को अर्को खेलमा एट्लेटिको म्याड्रिडले १० खेलाडीमा सिमित एसी मिलानलाई २–१ ले पराजित गरेको छ। एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन र लुइस सुआरेजले गोल गरे। घरेलु टोलीका राफयल लियोले एक् गोल गरे।
एट्लेटिकोले १–० ले पछि गरेको स्थिति उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको हो। खेलको २९ औँ मिनेटमा फ्रान्क केस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो।
जितसँगै अपराजित एट्लेटिको दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा हुँदा पराजित मिलान अंकविहीन रुपमा पुछारमा छ।
Shares

प्रतिक्रिया