खेल


सिकन्दर राजाको अर्धशतकमा विराटनगरद्वारा चितवनसामु १५२ रनको लक्ष्य प्रस्तुत

सिकन्दर राजाको अर्धशतकमा विराटनगरद्वारा चितवनसामु १५२ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
असोज १०, २०७८ आइतबार ११:५०, काठमाडौँ

अलराउण्डर सिकन्दर राजाले छक्काको वर्षा गरेपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवन टाइगर्ससामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको हो। 

विराटनगरका सौरभ खनाल ३० र अनिल खरेल शुन्य रनमा नटआउट रहे। खनालले १९ बलमा २ छक्का र ३ चौका हाने। 

दोस्रो ओभरमा ३ विकेट गुमाएर ९ रनका खराब स्थितीमा पुगेको विराटनगरलाई सिकन्दर राजा र अनिल शाह राम्रो पुनरागमन गराएका थिए। 

चौथो विकेटका लागि अनिल शाह र सिकन्दर राजाले ६१ रनको साझेदारी गर्दै विराटनगरको संकट टार्दै इनिङ् उकासेका थिए। अनिल शाह ३२ रनमा सागर ढकालको बलमा बोल्ड आउट भए। ३१ बलको सामना गरेका शाहले ३ चौका र १ छक्का हाने। 

सातौँ विकेटका लागि राजा र सौरभ खनालले ५१ रनको साझेदारी गरे। सिकन्दर राजाले ६७ रनमो महत्वपुर्ण योगदान दिए। 

४६ बलको सामना गरेका राजाले ७ छक्का र २ चौका हाने। १७औँ ओभरको चौथो बलमा ठुलो सट खेल्ने धुनमा राजा कमल ऐरिको बलमा भीम सार्कीको हातबाट क्याच आउट हुन पुगे।  

विरानगरका ७ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। खराब सुरुवात गरेको विराटनगरले सुरुवाती ३ ओभरमा नै तिन विकेट गुमाएको थियो। 

पहिलो ओभरमा नै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरमा एक विकेट गुमाउन पुग्यो। विराटनगरले ओभरको पहिलो बलमा नै ओपनर आशिफ शेख गोल्डेन डक आउट हुन पुगे। 

पहिलो ओभरको अन्तिम बलमा रयान पठान सोमपाल कामीको हातबाट बोल्ड आउट भए। ३ बलमा १ चौका सहित ४ रन जोडेका थिए। 

तेस्रो विकेटको रुपमा विराटनगरले ओपनर चन्द्रपउल हेमराजलाई गुमायो। ५ बलमा २ रन जोडेका हेमराजलाई कमल ऐरीले बोल्ड गरे। 

सुमित महर्जन शुन्य रनमा नै एलबीडब्लु धरापमा परे। कप्तान करण केसी १ रनमा पवेलिएन फर्के। 

चितवनका कप्तान सोमपाल कामीले पहिलो ओभरमा नै दुई विकेट लिदै टोलीलाई सफलता दिलाएका थिए। सागर ढकाल, कमल ऐरि करिम जन्नतले समान २ लिए। शाहब आलमले एक विकेट झारे।  

राजाको अर्धशतक 
जिम्बाबेका अलराउण्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा अर्धशतक पुरा गरेका छन्। 

आइतबार चितवन टाईगर्सविरुद्धको खेलमा राजाले ३७ बलमा अर्धशतक पुरा गरेका हुन्। त्रिवि मैदानमा छक्काको वर्षा गरेका राजाले १५औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक हानेका हुन्। 

राजाले ३७ बलमा ५ छक्का र २ चौका मद्दतमा अर्धशतक पूरा गरे।  

सिकन्दर राजाले ६७ रनमो महत्वपुर्ण योगदान दिए। ४६ बलको सामना गरेका राजाले ७ छक्का र २ चौका हाने। 

लगातार विकेट पतनले दबाबमा आएको विराटनगरका लागि राजाले इनिङ्स सम्हालेका थिए। जारी ईपीएलमा अर्धशतक पुरा गर्ने राजा चौथो खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad