नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूमध्ये प्राविधिक रूपमा ज्ञानेन्द्र मल्ल सबैभन्दा निपूण ब्याट्सम्यान मानिन्छन्। उनका सट सेलेक्सन, शरीर र ब्याटको तालमेल जहिले पनि तारिफयोग्य हुन्छ। उनको आकर्षक कभर ड्राइभ, पुललगायतका सटहरूमा कायल हुनेहरू पनि उत्तिकै छन्।
खेलमा मात्रै हैन, पारस खड्काले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोलीका सम्भावित कप्तान ज्ञानेन्द्र मल्ल मैदानबाहिर पनि उत्तिकै क्रियटिभ(सिर्जनशील) छन्। त्यसैका पछिल्ला उदाहरण हुन्– पोखरा प्रिमियर लिग(पीपीएल) र वुमन्स च्याम्पियन्स लिग(डब्लुसीएल)का आकर्षक ट्रफीहरू। जो ज्ञानेन्द्रकै अवधारणामा तयार भए।
पुरुषहरूको व्यावसायिक फ्रेन्चाइजी लिगका रूपमा क्विन्स इभेन्ट्स म्यानेजमेन्टले गत वर्षदेखि पोखरामा पीपीएल सुरु गरेको हो। ठीक १ वर्षपछि क्विन्सले नै काठमाडौंमा पहिलोपटक महिलाको फ्रेन्चाइजी लिगका रूपमा डब्ल्यूसीएल गरायो।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका मुख्य सदस्य हुन्– ज्ञानेन्द्र। क्विन्समा राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा क्यानका पूर्व कार्यसञ्चालक अधिकृत छुम्बी लामा पनि उनका पार्टनरका रूपमा छन्।
चितवन राइनोजले अपराजित रहँदै बिहीबार मात्रै डब्ल्यूसीएलको उपाधि उचाल्यो। विजेताका हातमा परेको ८ किलोको ट्रफीले धेरैको ध्यान खिचेको थियो। जसमा ५ महिलाले गोलाकार आकारमा क्रिकेट बल उचालिरहेका छन्। बलमा वुमन्स प्रिमियर लिगको छोटो रूप डब्ल्यूसीएल लेखिएको छ। यी भए देखिने कुरा। कुन अवधारणामा बन्यो यो ट्रफी बन्यो त?
ज्ञानेन्द्र भन्छन्, ‘प्रतियोगिताको उद्देश्य महिलाहरूलाई माथि उठाउनु, उनीहरूको सशक्तीकरण गर्नु हो। क्रिकेट बललाई पृथ्वीको संज्ञा दिँदै पाँचवटा टोलीका कप्तानले पृथ्वी उचालेको, धानेको सन्देश दिन खोजिएको हो।’
प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि आयोजकले पाँचै टिमका कप्तानहरूलाई राखेर ट्रफी सार्वजनिक गरेको थियो। ८ किलोको ट्रफी उचाल्दा कप्तानहरूले गह्रौं महसुस गरेका थिए। सुरुमा तामाबाट बनेको ट्रफीको माथि चाँदीको जलप लागेपछि गह्रौं भएको हो। त्यसमाथि तलपट्टी रहेको काठको आधारले पनि यसको तौल बढायो।
एकपटक कन्सेप्ट दिएपछि त्यसलाई पुनः परिवर्तन त गर्नुपरेन तर कन्सेप्टअनुसार बन्ला कि नबन्ला भन्ने चिन्ता भने ज्ञानेन्द्रमा सदैव रह्यो। तर, ट्रफी बनेर आएपछि सबैले तारिफ गर्दा उनी खुसी भए।
‘तामाको बनाएपछि माथिबाट सिल्भर र गोल्ड प्लेटेट गर्दा कन्सेप्टअनुसारको ट्रफी बन्ला कि नबन्ला भन्ने डर रहन्थ्यो,’ ज्ञानेन्द्रले सुनाए, ‘आफूले दिएको कन्सेप्टअनुसारै बन्दा भने एकदमै खुसी लाग्यो। ट्रफी देखेर मान्छेहरूले पनि राम्रो प्रतिक्रिया दिए। ट्रफीले प्रतियोगितालाई पहिचान दिने भएकाले मैले प्रतियोगितामा केही योगदान पुर्याउन सकें भन्ने लाग्यो।’
डब्ल्यूसीएलको ट्रफीका लागि भने ज्ञानेन्द्रसँग सोच्ने पर्याप्त समय थियो। तर, गत वर्ष पीपीएलको ट्रफी भने ज्ञानेन्द्रले अवधारणा दिए पनि एकदमै छोटो समयमा बनेको हो। त्यसैले त्यसलाई फिनिसिङ गर्न नपाए पनि फरकपन भने झल्काएको उनी बताउँछन्।
‘हाम्रोमा हुने प्रायः प्रतियोगितामा ट्रफीको माथिल्लो भागमा कप जोडिएको हुन्छ,’ ज्ञानेन्द्रले भने, ‘हामी प्रतियोगिता फरक गरिरहेका छौं भने ट्रफीमा पनि छुट्टै छाप हुनुपर्छ भन्ने लाग्यो। जहिले पनि परम्परागत कपबाट मात्रै नगएर फरक तरिकाको ट्रफी बनाऔं भनेर बिलकुल फरक रूपमा पीपीएलको ट्रफी तयार भयो। छोटो समय भएकाले राम्ररी फिनिसिङ भने गर्न पाइएन।’
मूर्तिकार युवराज शाक्यको टिमले ज्ञानेन्द्रले दिएको अवधारणालाई १ महिनाभन्दा कम समयमा मूर्तरूप दिएका थिए। गोलो आकारमा रहेको पीपीएको ट्रफी तामाबाट बनाउँदै चाँदी र सुनको जलप लगाइएको थियो। बीचमा प्रतियोगिताको नाम र बाहिर वरिपरि अष्टमंगलका आठवटा प्रतीक राखिएका थिए।
‘हिन्दू, बुद्ध अनि हामी नेवारीको कल्चरमा अष्टमंगललाई राम्रो, शुभ संकेतका रूपमा लिइन्छ,’ ट्रफीमा अष्टमंगल राख्नाको कारण खुलाउँदै ज्ञानेन्द्रले भने, ‘हामी पहिलोपटक नयाँ भेन्युमा ठूलो स्केलको प्रतियोगिता आयोजना गर्दै थियौं। त्यसैले अष्टमंगलले राम्रो सुरुवात गरोस् भनेर शुभकामनाका रूपमा पनि ट्रफीमा त्यो राखिएको थियो। रेडिमेडभन्दा पनि हाम्रो मौलिक रूप नै दिने खालको ट्रफी बनाउने भन्ने अवधारणाले यो तयार भएको हो।’
आकर्षक ट्रफीले कहिलेकाहीं खेलाडीलाई आहा! यस्तो ट्रफी हामीले जित्न पाए हुन्थ्यो भन्ने इच्छा जगाउने उनी बताउँछन्। आफ्नो भने पहिलेदेखि नै अवधारणा बनाउने र सिर्जनशीलतामा रुचि भएको उनले बताए।
प्रतियोगितामा पनि नयाँपन
ट्रफीमा मात्रै हैन, ज्ञानेन्द्रले प्रतियोगिताहरू पनि फरक ढंगले आयोजना गर्दै आएका छन्। सुरुमा आफ्नो एकेडेमी काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबाट कलेज, कर्पोरेट प्रतियोगिताहरू गर्दै आएका ज्ञानेन्द्रले ३ वर्षअघि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेका थिए।
त्यसपछि व्यावसायिक रूपमा ठूलो प्रतियोगितामा ज्ञानेन्द्रले हात हालेको भनेको गत वर्षदेखि सुरु भएको पीपीएल नै हो। जसको सफलतामा ज्ञानेन्द्रको भूमिका उल्लेखनीय छ। दिनरात नभनी उनी प्रायोजक खोज्न, मैदान तथा प्रतियोगिता व्यवस्थापन, अतिथि सत्कार सँगसँगै मैदानमा खेल्ने भूमिका पनि कुशलतासाथ निर्वाह गर्थे। प्रतियोगिताको सफल आयोजनापछि चौतर्फी ज्ञानेन्द्र र उनको टिमले प्रशंसा पाएको थियो।
यो पनि: कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)
यो पनि: पारसले ट्विस्ट देलान्
‘पहिले एकेडेमीबाट स–सानो गरिन्थ्यो। पछि आएर ठूलो स्केलको प्रतियोगिता गरियो। सबैमा केही फरक नै गर्न खोजिन्थ्यो,’ ज्ञानेन्द्रले भने, ‘सबै जनाले मनपराइदिइराख्नुभएको छ। राम्रो काम गर्यो भनेर भन्नुभएको छ। आफूले गरेको काममा अरूले स्याबासी दिँदा खुसी नै लाग्छ।’
बिहीबार डब्ल्यूसीएल सकिए पनि ज्ञानेन्द्र र उनको टिमले आराम पाउने अवस्था छैन। मंसिर अन्त्यदेखि पुनः पीपीएलको दोस्रो संस्करण आयोजना हुँदै छ। त्यसका लागि क्विन्सको टिम तयारीमा जुटिसकेको छ।
यो पनि: पारसलाई नफर्काउने क्यानको चाहना
यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा
यसपटकको पीपीएलमा पनि ज्ञानेन्द्र र उनको टिमले नयाँ अवधारणा ल्याउँदै छन्, त्यो समर्थनका लागि हुनेछ।
‘यसपटक ‘लोयल फ्यान’ भनेर नयाँ अवधारणामा काम गर्ने सोचेका छौं,’ उनले सुनाए, ‘यो भनेको दर्शकलाई पीपीएलको सदस्य बनाउने र वर्षभरि सहुलियत दिने हो। उनीहरूले हामीलाई सपोर्ट गर्छन् भने हामीले उनीहरूलाई स्पोन्सरहरूसँग जोडेर या अन्य कुन तरिकाले सपोर्ट गर्न सक्छौं। त्यसमा काम गर्र्दै छौं।’
याे पनि : सुमन खतिवडाः चितवनलाई च्याम्पियन बनाउने नायिका
यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा
यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ
यो पनि: छायाँमा परेको एउटा प्रदर्शन
Shares
प्रतिक्रिया