फ्रेन्चाइज क्रिकेट ‘एभरेस्ट प्रिमियर लिग’ (ईपीएल) सुरु हुनु दुई दिनअघि सहभागी क्लब पोखरा राइनोजले पत्रकार सम्मेलन गरी टोलीबारे जानकारी गराएको छ।
होटल हायातमा गरेको पत्रकार सम्मेलनमा क्लबका निर्देशक दिपेन्द्र अग्रवालले आफ्नो टोलीमा २० वर्षमुनिका खेलाडी रहेकाे बताउँदै विदेशीसहित राष्ट्रिय खेलाडी रहेकाले टोलीले राम्रो गर्ने बताए।
उनले भने, ‘टोली राम्रो बनाउने कोशिस गरेका छौँ, नतिजा पनि राम्रो आउनेमा विश्वस्त छौँ।’
त्यस्तै क्लबका प्रशिक्षक उमेश पटवालले लामो समयपछि नेपाल आउँदा खुसी लागेको बताए। उनले युवा खेलाडीले भरिएको टिमले राम्रो गर्ने दाबी गरे।
पोखरा राइनोजका क्याप्टेन विनोद भण्डारीले राष्ट्रिय टोलीका तीन जनाले आजबाट प्रशिक्षण सुरु गरेको बताए। उनले भने, ‘तीन राष्ट्रिय खेलाडीले पनि आजबाट प्रशिक्षण सुरु गर्नुभएको छ। सन्तुलित टोली छ, जितकै लागि खेल्नेछौँ।’

टोलीका बलिङ प्रशिक्षक शक्ति गौचनले यसपालि आफू प्रशिक्षकको रुपमा आएको र राम्रो नतिजा ल्याउन मिहिनेत गरेको बताए।
उनले भने, ‘दुईपटक खेलाडीकै रुपमा खेलिसकेको छु, यसपटक प्रशिक्षकको रुपमा आएको छु। सबै मिलेर काम गरेका छौँ। विपिन खत्री, देव शाह र विदेशी खेलाडी आएकोले स्पिनर छन्, राम्रो गर्नेछौँ।’
टप २ मा पुग्ने लक्ष्य राखेको उनले खुलाए।
फिल्डिङ प्रशिक्षक रिजन प्रजुले गत वर्ष फिल्डिङ नै नराम्रो रहेको बताउँदै यसपटक ध्यान दिने बताए। यसपालि फिल्डिङ पनि राम्रो हुने उनको भनाइ थियो।
टोलीमा ६÷७ महिना मैदानबाहिर रहेका क्रिकेटर रित गौतम पनि छन्। उनले यसपालि मैदान उत्रिन पाउनु आफ्ना लागि अवसर भएको बताए। फ्रेन्चाइज क्रिकेट उनका लागि पहिलोपटक हो।
क्लबकी मालिक दीपा अग्रवाल रहेकी छिन्। उनले पनि टोलीले राम्रो तयारी गरेकोले आशावादी रहेको बताइन्।
६ टोली सहभागी हुने ईपीएल यही शनिबारबाट सुरु हुँदै छ।
Shares

प्रतिक्रिया