इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। दिल्लीका युवा ब्याट्सम्यान श्रेयस ऐर ४७ रनमा नटआउट रहे। उनले ४१ बलमा २ चौका र २ छक्का हाने।
कप्तान तथा विकेटकिपर ऋषभ पन्त ३५ रनमा नटआउट रहे। ऋषभले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। शिखर धवन ४२ पवेलियन फर्किँदा र ओपनर पृथ्वी शा ११ रनमा आउट भए। हैदराबादका खलिल अहमद र राशिद खानले समान एक विकेट लिए।
त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रनको योगफल तयार पारेको थियो।
हैदराबादका युवा ब्याट्सम्यान अब्दुल सामदले सर्वाधिक २८ रनको योगदान दिए। राशिद खानले २२, विकेटकिपर ऋद्धिमान शाह र कप्तान केन
विलियम्सन समान १८ रनमा आउट भए। मनिष पाण्डे १७, केदार जाधब ३ र जेसन होल्डरले १० रन थपे।
दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ३ तथा अक्षर पटेल र एनरिच नोर्कियाले समान २ विकेट लिए।
अंक तालिका
९ खेलमध्ये ७ मा जित र २ मा हार भएकाे दिल्ली क्यापिटल्स् १४ अंकमा शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको चेन्नई सुपर किंग्स ६ जित र २ मा हार भोग्दै १२ अंकमा दोस्रो स्थानमा छ।
रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार बेहाेर्दै १० अंक बनाए पनि नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ। ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंक बटुल्दै मुम्बई इन्डियन्स चौथो, समान खेलबाट ४ मा हार र ४ मा जितसहित ८ अंकका राजस्थान रोयल्स पाँचौ स्थानमा छन्।
८ खेलमा ३ जित र ५ मा हारसहित ६ अंकमा कोलकाता छैटौँ स्थानमा हुँदा एक खेल बढी खलेको पन्जाब ६ मा हार र ३ मा जितसहित ६ अंकमा सातौं स्थानमा छ। ८ खेलमध्ये ७ मा हार र १ मा जित गर्दै सनराइजर्स हैदराबाद २ अंकमा तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया