स्पेनिस ला लिगामा रियल मलोर्काविरुद्ध रियल म्याड्रिडले सानदार जित हासिल गरेकाे छ।
बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले रियल मलोर्कालाई ६–१ को फरािकलो अन्तरले हराएकाे हो।
रियलको जितमा मार्को एसेन्सियोले ह्याट्रिक तथा कप्तान करिम बेन्जेमाले दुई गोलसँगै दुई असिस्ट दिएपछि रियलकाे सानदार विजय भएकाे हो।

इस्कोले एक गोल थपे। मलोर्काका काङ इन लिले एक गोल फर्काए।
खेलको तेस्रो मिनेटमा नै कप्तान बेन्जेमाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। २४औं मिनेटमा मार्को एसेन्सियाले रियलको अग्रता दोब्बर पारे। लगत्तै २५औं मिनेटमा काङ इन लिले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए।
२९औं मिनेटमा एसेन्सियाले करिम बेन्जेमाको पासमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो।
खेलको ५५औं मिनेटमा एसेन्सियाले बेन्जेमाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे। उनले बेन्जेमाको पासमा गोल गरेका थिए।
७८औं मिनेटमा बेन्जेमाले डेभिड अलाबाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै अग्रता फराकिलो पारेका थिए। ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल गरेपछि रियलले ६–१ को फराकिलो जित दर्ता गर्यो।
जितसँगै अपराजित रियल ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजित मलोर्का ८ अंक जोडेर १०औं स्थानमा झरेको छ।
गएराति नै भएका अन्य खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ ले तथा भिल्लरियलले इल्चेलाई ४–१ को फराकिलो अन्तरमा हराएका छन्। अर्को खेलमा स्पान्योलले एलाभेस लाई १–० गोलले पाखा लगायो।
Shares

प्रतिक्रिया