सुमन खतिवडाले उत्कृष्ट अलराउण्डर प्रदर्शन गरेपछि चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।
सुमनले ब्याटिङमा चितवनका लागि सर्वाधिक २९ रन र बलिङमा महत्वपूर्ण ३ विकेट लिएपछि काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो।
चितवनले दिएको ११३ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित १९.६ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा समेटिएको थियो।
सुमन खतिवडाले तेस्रो ओभरको पहिलो बलमा शोभा आलेलाई बोल्ड पार्दै चितवनलाई पहिलो सफलता दिलाएकी थिइन। ८ बल खेलेकी शोभाले एक चौकासहित ६ रनमात्रै जोड्न सकिन।
यस्तै अर्को ओभरमा रेखा रावलले रोमा थापालाई खाता नै खोल्न नपाई विकेटकिपर काजल श्रेष्ठको हातबाट क्याच गराएपनि काठमाडौंलाई दोस्रो झट्का लागेको थियो।
बिन्दुले नै छैटौं ओभरको पाँचौ बलमा काठमाडौंकी कप्तान रुविना क्षेत्रीलाई पवेलियन फर्काएपछि चितवन खेलमा हावी भयो। उत्कृष्ट लयमा रहेकी रुविना २ रनमा पवेलियन फर्कादा काठमाडौंले ६ ओभरमा ३ विकेट गुमाएर १३ रनमात्रै जोड्न सकेको थियो।
आठौं ओभरमा नितु भण्डारी रनआउट भइन। उनले २ रनमात्रै जोड्न सकिन। पाँचौ विकेटका लागि अप्सरी वेगम र ममता थापाले सम्हालिएर खेल्दै २५ रनको साझेदारी गरेका थिए। तर, चौधो ओभरको आफ्नो स्पेलको पहिलो ओभर लिएर आएकी ऋतुले अप्सरीलाई बोल्ड पारिन। अप्सरीले ३१ बलमा २ चौकासहित १५ रन बनाइन।
अर्को ओभरमा सुमन खतिवडाले लगातार दुई बलमा दुई विकेट लिदैँ चितवनको जित लगभग सुनिश्चित गरिन। उनले १५ औं ओभरको तेस्रो बलमा ममता थापालाई बोल्ड गरिन। ममताले १४ बलमा २ चौकासहित १३ रन जोडिन। यस्तै अर्को बलमा सुमनलले सरस्वती कुमारी चौधरीलाई खाता नै खोल्न नदिई बोल्ड पारिन।
यस्तै १६औं ओभरको तेस्रो बलमा ऋतुले नै संगीता राई(४ रन)लाई विकेट किपर काजल श्रेष्ठबाट स्टम्पिङ गराउँदै काठमाडौंको आठौं विकेट झराएपछि चितवनको जित औपचारिकतामा मात्रै सीमित रहेको थियो।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो।
उसका सुमन खतिवडाले २९, इन्दु बर्माले २२, काजल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन जोडिन। चितवनलाई ओपनरद्घय काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
काठमाडौंका लागि आठौं ओभरको पाँचौ बलमा सरस्वती कुमारी चौधरीले काजललाई आउट पार्दै ब्रेक थु्र दिलाइन। काजलले उठाएको बललाई मिडविकेटमा नितु भण्डारीले उत्कृष्ट क्याच समातिन। काजलले २८ बलमा २ चौकासहित २१ रन जोडिन।
काजल आउट भएको दोस्रो बलमा नै चितवनले अर्की आपेनर कञ्चन श्रेष्ठलाई पनि गुमायो। लक्ष्मी साउदले कञ्चन श्रेष्ठलाई विकेटकिपर ममता थापाको हातबाट क्याच गराइन। कञ्चनले २६ बलमा ३ चौकासहित १९ रन जोडिन।
त्यसपछि क्रिजमा ऋतु कनौजिया र सुमन खतिवडा आएका थिए। १५औं ओभरको अन्तिम बलमा सुमनलाई संगीता राईले बोल्ड पानुअघि दुवैले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे।
पन्ध्रौं ओभरको तेस्रो र चौथो बलमा सुमनले लगातार दुई चौका प्रहार गरेकी थिइन। अन्तिम बलमा बोल्ड हुनुअघि २५ बल खेलेकी उनले ४ चौकासहित २९ रन जोडिन।
त्यसपछि ऋतुलाई साथ दिन चितवनकी कप्तान इन्दु बर्मा क्रिजमा आएकी थिइन। तर अर्को ओभरमा पाँचौ बलमा ऋतु रनआउट भइन। ऋतुले ६ रनमात्रै जोड्न सकिन।
इन्दुले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार तीन चौका प्रहार गर्दै चितवनलाई सम्मानजनक स्कोरमा पुर्याएकी हुन। १९ बल सामना गरेकी इन्दुले ४ चौकासहित २२ रन जोडिन।
विजेता टोलीले ७ लाख तथा उपविजेताले तीन लाख पुरस्कार पाएको छ।

प्रतिक्रिया