ad ad

खेल


नेपाल ओमानसँग ५ विकेटले पराजित

नेपाल ओमानसँग ५ विकेटले पराजित

नेपालखबर
भदौ २९, २०७८ मंगलबार २३:४१, काठमाडौँ

आईसीसी विश्वकप छनोट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ। 

नेपालले दिएको १ सय ९७ रनको सामान्य लक्ष्य ओमानले १ सय १३ बल अगावै ५ विकेट गुमाएर सहजै भेट्टायो। 

ओमानका लागि विष्फोटक ब्याटिङ गरेका ओपनर जतिन्दर सिंहले १ सय ७ रनको महत्वपुर्ण योगदान दिए। ६२ बलको सामना गरेका जतिन्दरले १२ चौका र ६ छक्का प्रहार गरे।  

अर्का ओपनर सोयव खान ७ र आयन खान १८ रनमा पवेलियन फर्के। कप्तान जेसन मकसुदले ४ रन थपे। 

नेपालका लागि करण केसी र कुशल मल्लले समान २ विकेट लिए। सुसान भारीले एक विकेट झारे। सोमपाल कामी, विक्रम शोबले कुनै विकेट लिन सकेनन्। 

नेपालका लागि सोमपाल कामी निकै महंगा सावित भए। सोमपाल पाँचौं ओभरमा जतिन्दर सिंहबाट नराम्ररी चुटिन पुगे। सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरे। ३ ओभर बलिङ गरेका सोमपालले १ मेडन सहित ३५ रन खर्चे। 

त्यसअघि ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रन जोड्दा अलआउट भयो।  

नेपालका लागि ओपनर आरिफ शेखले उत्कृष्ट पर्दशन गरेपनि अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन्। ओमानका बलरसामु निहिर भएका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।  

नेपालका लागि शेखले सर्वाधिक ९० रनको योगदान दिए। 

१ सय १२ बलको सामना गरेका शेखले ७ चौका र १ छक्का प्रहार गरे। शतक नजिक पुगेका शेखले ओडिआइ करियरको पहिलो अर्धशतक प्रहार गरे। ओडिआईमा अर्धशतक प्रहार गर्ने शेख १० औँ खेलाडी हुन्। 

ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा नै पवेलियन फर्के।  कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१ तथा रोहित पौडेलले २० रन जोडे। सन्दीप लामिछानेले १६ रन थपे। विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४, विक्रम सोबले २ रन मात्र बनाउन सके। सुशन भारी २ रनमा नटआउट रहे। 

मध्यम सुरुवात गरेको नेपालका मध्यक्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल कम स्कोरमा रोकिन पुग्यो।  

नेपालका लागि घातक बनेका विलाल खान एक्लैले ४ विकेट लिए। नेष्टर डम्बाले २ तथा मोहम्मद नदिमले एक विकेट लिए। 

सिरिजको तेस्रो खेलमा नेपालले शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .