ad ad

खेल


कोरोना रिपोर्ट दिनैपिच्छे फरक आउँदा टोकियो ओलम्पिकमा जान पाइनन् प्रशिक्षक मल्ल

मल्ल भन्छिन्, ‘सोचेजस्तो नहुने रहेछ’
कोरोना रिपोर्ट दिनैपिच्छे फरक आउँदा टोकियो ओलम्पिकमा जान पाइनन् प्रशिक्षक मल्ल

लक्ष्मी जि.सी
साउन ४, २०७८ सोमबार १५:२२,

टोकियो ओलम्पिकको मिति जति नजिकिँदै गएको छ, नेपाल ओलम्पिक कमिटी (एनओसी) त्यति नै विवादमा तानिँदै गएको छ। 

यसअघि एथ्लेटिक्सको खेलाडी छनोटको विषयमा विवादमा आएको एनओसी अहिले भने कोरोना संक्रमणको कारण देखाउँदै एथ्लेटिक्सकै प्रशिक्षक फेरिएपछि पुनः चर्चामा आएको छ।

एथ्लेटिक्सतर्फ म्याराथनमा गोपीचन्द्र पार्की सहभागी हुन नसक्नुको कारण बारेमा चित्त बुझदो जवाफ दिन नसकेको एनओसीले पुनः कोरोनाको कारण देखाउँदै एथ्लेटिक्समै प्रशिक्षक फेरेपछि खेल क्षेत्र एकपटक फेरि तातेको छ।

गोपीको स्थानमा एथ्लेटिक्सको एक सय मिटर दौडमा सरस्वती चौधरी सहभागी हुने भएपछि एनओसीले महिला प्रशिक्षक इन्द्र कुमारी मल्ललाई नियुक्त गरेको थियो।

तर ओलम्पिक सुरु हुन ५ दिनअघि मात्रै एनओसीले मल्ललाई कोरोना पोजेटिभ देखिएको भन्दै उनको ठाउँमा अर्का प्रशिक्षक सन्तोष श्रेष्ठ सहभागी हुने बताएको थियो। श्रेष्ठले गोपीचन्द्र पार्कीलाई प्रशिक्षण दिँदै आएका थिए।

ओलम्पिकका सहभागी हुन जापान जानु सात दिन अघिबाट लगातार कोरोना परीक्षण गराउनुपर्ने हुन्छ।


मल्लकाे काेराेना पाेजिटिभ रिपाेर्ट

एनओसीले टोकियो ओलम्पिकमा सहभागी हुनका लागि सहभागी टोलीका सदस्यलाई स्टार अस्पतालमा नियमित कोरोना परीक्षण गराइरहेका छन्।

गत शनिबार पहिलो दिनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनको ठाउँमा श्रेष्ठलाई सहभागी गराउने एनओसीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

तर प्रशिक्षक मल्लले भने यसबारेमा आफूलाई जानकारी नै नदिई अर्को प्रशिक्षक पठाउन लागेको भन्दै दुःख व्यक्त गरेकी छन्। 

‘खेलाडी र म दुवै जना एनओसीमा गएर कोरोना परीक्षण गरायौँ। त्यसपछि खेलाडीको जुत्ता लगायतका सामान किन्न गयौँ। यतिका दिनसम्म हामी सँगै एउटै होटलमा बस्दा मेरो मात्र रिपोर्ट कसरी पोजेटिभ आयो’, नेपालखबरसँगको कुराकानीमा मल्लले भनिन्, ‘यो बारेमा मलाई एनओसीले केही भनेन। खेलाडीलाई बोलाएर प्रशिक्षक परिवर्तन गरिएको जानकारी दिइएको रहेछ। मैले समाचार हेरेर मात्रै थाहा पाए। मलाई कोरोना पोजेटिभ देखिएको भनिएको छ। अहिले जान नपाउने भन्ने सुने। मलाई कुनै लक्षण देखिएको छैन, म स्वस्थ छु। मैले दुईवटा खोप पनि लगाइसकेको छु।’

मल्लको शनिबार कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। स्टार अस्पतालमै आइतबारको अर्को रिपोर्टमा भने उनको रिपोर्ट नेगेटिभ देखिएको छ। 

मल्लले भनिन्, ‘मलाई कोरोना पोजेटिभ भयो भन्ने सुनेपछि एकैदिन स्टार हस्पिटलसहित चार ठाउँमा परीक्षण गरे। सबै ठाउँमा नेगेटिभ आयो। यो कसरी सम्भव भयो?’

खेलाडीका रुपमा ओलम्पिक खेल्न नपाएपछि प्रशिक्षकका रुपमा सहभागिता हुने अवसरलाई लिएर आफू निकै उत्साहित रहेको मल्ल सुनाउँछिन्। 

उनको गुनासो छ, ‘खेलाडी जीवनमा अधूरो सपना प्रशिक्षकको रुपमा पूरा हुन्छ भन्ने आशा थियो। तर अन्तिम समयमा आएर के भयो, मैले बुझ्नसकेको छैन।’

ओलम्पिकमा सहभागी हुन टोकियो पुगिसकेका एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि जानुअघि सातै दिनको कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने बताए। 

‘अहिले कोरोनाको कारण एकदमै गाह्रो छ। लगातार सात दिनको रिपोर्ट देखाउनुपर्ने हुन्छ। एक दिनमा पोजेटिभ र भोलिपल्टै नेगेटिभ आउने भन्ने कुरा हुँदैन’, उनले भने, ‘तोकेको अस्पतालबाट रिपोर्ट नेगेटिभ आएको खण्डमा भने सहभागी हुन सक्छन् तर त्यस्तो हुन असम्भव छ।’


मल्लकाे पाेजेटिभ आएको १ दिनपछि स्टार अस्पतालमै काेराेना नेगेटिभ रिपाेर्ट

प्रशिक्षकका रुपमा छनोट भएपछि ओलम्पिक जान पाउँछु भन्ने विश्वास पछि मात्र भएको मल्लले सुनाइन्। 

‘एनओसीले पत्रकार सम्मेलन गरेर नाम सार्वजनिक गर्यो। पछि राष्ट्रपतिज्यूबाट विदाइ भएपछि मात्रै ढुक्क भएकी थिएँ’, उनले भनिन्, ‘त्यति हुँदा पनि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले आफुलाई ढुक्क नहुन बारम्बार भन्नुभएको थियो। यसअघि हामीले अर्कै प्रशिक्षकको नाम लङ लिष्टमा पठाएका थियौँ। तपाईंको नाम नआए पनि हामी भिसा प्रक्रिया सुरु गर्छौँ भन्नुभएको थियो।’

मल्लले खेलकुदबाट आफूले धेरै आशा नगरेको बताइन्। 

‘मलाई उनीहरुले नै पोखरादेखि यहाँ बोलाए, अहिले आएर यस्तो भन्दा नराम्रो लाग्ने रहेछ’, निराश हुँदै उनले भनिन्, ‘मैले अहिलेसम्म गरेको मिहिनेतको फल पाएँ भन्ने लागेको थियो। तर सोचेजस्तो नहुने रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .