नेपाली राष्ट्रिय महिला टोली, फिलिपिन्समा हुने एभीसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागी नहुने भएको छ।
एभीसीले आज शुक्रबार सार्वजनिक गरेको समूह तालिका अनुसार ८ टोलीको मात्र सहभागिता निश्चित भएको हो।
समूह ‘ए’ मा आयोजक फिलिपिन्स, काजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन्। समूह ‘बी’ मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन्। च्याम्पियनसिप आगामी भदौ १३ देखि १८ सम्म हुनेछ।
च्याम्पियनसिपको सुरुवातमा १७ टोलीले सहभागिता जनाउने भनिए पनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो।
तर एभीसीले आज सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम समावेश छैन। कोरोना संक्रमणका कारण यी देशहरु सहभागी नभएको बुझिएको छ।
नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो। अबको केहि सातामा १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्ने तयारी संघले गरेको थियो।
च्याम्पियनसिपमा सहभागी हुनका लागि तयारीदेखि प्रतियोगितासम्म करिव १ करोड ५० लाख खर्च हुने अनुमान नेपाल भलिबल संघले गरेको थियो।
Shares

प्रतिक्रिया