सन् २००९ मा विनोद दासलाई नै विस्थापित गरेर पारस खड्का नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। मंगलबार कप्तानीबाट राजीनामा दिनुअघि पारसले १० वर्ष नेपाली क्रिकेट टोलीको नेतृत्व गरे।
सोमबार नेपाली क्रिकेटमाथि लागेको साढे तीनवर्षको निलम्बन फुकुवा भएको २४ घण्टा नबित्दै मंगलबार अपरान्ह पारसले दिएको राजीनामालाई धेरैले आश्चार्य मानेका छन्। धेरैको चाहना पारसले अहिलै नेतृत्व नछोडेको भए हुने भन्ने थियो। पूर्वकप्तान विनोद दासले पनि पारसले अहिलै नेतृत्व नछाडेको भए हुने प्रतिक्रिया दिए।
प्रस्तुत छ, दाससँग पारसको राजीनामापछि नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीको अंश–
अहिलेको समयमा पारसले कप्तानी नछाडेको भए हुन्थ्यो। आफूपछि अर्को कप्तान को बन्ने? भनेर टुंगो नलागेसम्म उनले राष्ट्रिय टोलीको कप्तानी सम्हालेको भए राम्रो हुन्थ्यो।
हामी सबैले भनिराख्नु पर्दैन पारसले नेपाली क्रिकेटका लागि ठूलो योगदान दिएका छन्। पारस नेपालमा अहिलेसम्मकै सबैभन्दा सफल कप्तान हुन्। उनले सबैलाई क्रिकेटमा प्रेरित गरेका छन्। नेपालको पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो तथा महत्वपूर्ण खेलाडी भनेकै पारस खड्का हुन्।
यो पनि: क्यानको नेतृत्वमा आउने चाहना छ: पारस खड्का(अन्तर्वार्ता)
पारसले कप्तान र खेलाडीको भूमिकामा प्रशंसनीय प्रदर्शन गरेका छन्। नेपालले जितेका प्रत्येक महत्वपूर्ण खेलमा पारसको हात छ। विश्वकपमा पुर्याउनेदेखि नेपालले एक दिवसीय क्रिकेटको स्थान पाउदासम्म पारसको योगदान अतुलनीय छ।
पारसको कप्तानीमा नेपालले थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरु हासिल गर्यो। थुप्रै सफलता चुम्यो। पारसले खेलाडी र कप्तानका रुपमा नेपालको नाम र शानका लागि ठूलो काम गरे।
उनी कुशल कप्तान हुन्। उनीसँग क्रिकेटको प्रशासनिक लगायत व्यवस्थापन गर्ने खुबी पनि छ। हामीले भनिरहनु पर्दैन पारस नेपाली क्रिकेटका स्टार हुन्।
पारसले धेरै सोचेर बुझेर कप्तान छाड्ने निर्णय लिएका होलान्। उनको निर्णयले नेपाली क्रिकेटलाई फाइदा नै पुर्याउँछ होला।
मेरो व्यक्तिगत धारणा अनुसार पारसले अझै तीनवर्ष क्रिकेटमा सक्रिए भएर खेल्नेछन्। त्यतिन्जेलसम्म उनले उनको उत्तराधिकार नभेटिएसम्म क्रिकेटको कप्तानी सम्हाले हुने थियो। त्यसबेलासम्म कप्तान बन्न सक्ने खुबी भएकालाई उनले अझ सहयोग गर्नसक्थे। ज्ञानेन्द्र मल्ल र पारस लगभग एकै उमेर समूहका हुन्। उनीहरुले एकै समयमा खेलबाट सन्यास लिएपछि कप्तानीमा समस्या देखिन सक्छ।
पारसले अहिलै कप्तानी नछाडेको भए नेपाली टोलीले दुई तीनवर्षपछि राम्रो कप्तान पाउने थियो। युवा खेलाडीलाई त्यस समयसम्म कप्तानको भूमिकामा अभ्यस्त बनाएर पारसले राजिनामा दिएको भए उत्तम हुने थियो।
यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा
अब नेपालमा जो कप्तान बने पनि पारसको सल्लाह, उनका राय महत्वपूर्ण र अपरिहार्य हुन्छ। पारसका कामकुुराहरु आउँदा दिनमा पनि नेपालका लागि अर्थपूर्ण हुन्छ।
क्रिकेट व्यवस्थापन गर्ने पक्षले सबै कुरा मध्यनजर गरेर कप्तानको खोजी गर्नुपर्दछ। पारसले राजीनामा दिइसेको अवस्थामा अब हामीले राम्रो कप्तानको खोजी गर्नुपर्छ।
म अहिले नै पारसको विकल्प को हुनसक्छ भनेर भन्न सक्दिन। तर यो भन्दा पहिले ज्ञानेन्द्र मल्लले राम्रोसँग कप्तानी सम्हालेका हुनाले सायद उनी कप्तानका विकल्प हुनसक्छन्।
टिम कप्तान तबमात्र सोचिन्छ जब कुनै खेलाडी टोलीमा ढुक्कसँग पर्नसक्ने क्षमता राख्छन्। सामान्यतः टोलीका उत्कृष्ट खेलाडीलाई कप्तान बनाइन्छ। तर खेलाडी राम्रो छ भन्दैमा उसले राम्रो कप्तानी सम्हाल्छ भन्ने हुँदैन।
कप्तानका आफ्नै खुबी हुन्छन्। तेन्दुल्करलाई पनि भारतको राम्रो कप्तानको रुपमा लिइँदैन। नेपालका लागि ज्ञानेन्द्र र दिपेन्द्र ऐरी कप्तानका विकल्प हुनसक्छन्।

प्रतिक्रिया