ad ad

खेल


कल्पनालाई ओलम्पिक पुर्‍याउने त्यो ‘वाइल्ड कार्ड’

कल्पनालाई ओलम्पिक पुर्‍याउने त्यो ‘वाइल्ड कार्ड’

कल्पना परियार प्रशिक्षणका क्रममा। तस्बिरः सुजन श्रेष्ठ


लक्ष्मी जि.सी
असार २२, २०७८ मंगलबार १२:४३,

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक आउन तीन साताभन्दा कम समय छ। 

यस्तोमा त्यसमा सहभागी हुन पाउने खेलाडीले आफूलाई निकै भाग्यमानी महशुस गर्छन्। 

तिनै भाग्यमानी खेलाडीमा परेकी छिन् सुटिङकी कल्पना परियार। 

नजिकै आइपुगेको टोकियो ओलम्पिकमा परियारले पनि सहभागिता जनाउँदै छिन्। 

यस्तो अवसर उनलाई ‘वाइल्ड कार्ड’ले जुराइदिएको हो। 

 

अब उनले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। 

गत जेठ १४ गते उनले वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सार्वजनिक गरेको थियो। 

एनओसीले वाइल्ड कार्डका लागि कल्पनासँगै सुटिङकी सुस्मिता नेपालको नाम पनि पठाएको थियो। सुस्मिता पनि ओलम्पिकको छात्रवृत्तिमा रहेकी थिइन्। 

तर कल्पनाले सबै मापदण्ड पूरा गरेपछि ओलम्पिकको लागि छनोट भएकी हुन्।

सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर (एमक्युएस) ल्याएको हुनुपर्दछ। 

१० मिटर एयर राइफलको लागि महासंघले ५९० एमक्यूएस राखेको थियो। 

कतारको दोहामा सन् २०१९ को नोम्बेरमा भएको एसियाली सुटिङ च्याम्पियनसिपमा कल्पनाले ६१३.९ स्कोर गरेकी थिइन्। 

त्यही प्रदर्शनले उनको ओलम्पिकको ढोका खोलेको थियो। 

भाग्यमानी कल्पना 
सुटिङमा १२ पुरुष र १२ महिला गरी २४ वटा वाइल्ड कार्डको कोटा राखिएको थियो। भाग्यमानी १२ भित्र कल्पनाको नाम अट्यो।

२०७० सालमा त्रिभुवन आर्मीमा प्रवेश गरेकी कल्पना खेलाडी बन्ने सोचले विभाग प्रवेश गरेकी भने थिइनन्। 

उनको विशुद्ध उद्देश्य नै देश र जनताको सेवा गर्ने थियो। 

आर्मीमा प्रवेश गरेको त्यो बाटो पछि मात्र खेलमा मोडियो। अहिले त उनको खेल जीवन पनि लामो भइसक्यो। 

उनले विश्वकपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेकी छिन्।

अहिले ओलम्पिकको लागि बन्द प्रशिक्षणमा रहेकी कल्पनाले भनिन्, ‘खेलाडी भएपछि सबैको सपना हुन्छ ओलम्पिक खेल्ने। मेरो पनि सपना थियो। त्यसमा छनोट भएँ तर खेल्न भने बाँकी छ।’ 

अहिलेसम्म गरेको प्रशिक्षणअनुसार आफ्नो संस्था (त्रिभुवन आर्मी क्लब) र देशको नाम राख्ने गरेर खेल्ने उनी बताउँछिन्।

विश्वासै थिएन
कल्पनालाई ओलम्पिकका लागि आफ्नो नाम आउँछ भनेर त्यस्तो धेरै विश्वास भने थिएन। 

उनले त्यो बेलाको आफ्नो अुनभव सुनाउँदै भनिन्, ‘सुरुमा क्याम्पमा हुँदा नाम आउँछ जस्तो त लागेको थिएन। तर वाइल्ड कार्ड आएपछि एकदमै खुसी लाग्यो।’

आफ्नो संस्था आर्मी क्लब, एनओसी र देशले नै विश्वास गरेर ‘वाइल्ड कार्ड’ पाएको बताउँछिन् उनी। 

‘अब सबैको नाम राख्ने गरेर खेल्नु छ’, बलियो आत्मविश्वाससाथ उनी भन्छिन्, ‘मेरो नाम आउँदा धेरै जनाले मलाई बधाई दिनुभयो। उहाँहरु खुसी भएको देख्दा मलाई झनै बढी खुसी लाग्यो। घरपरिवार, कोच, संघ, एनओसीले जुन विश्वास मप्रति गर्नुभएको छ, अब त्यसमा उत्रिनु छ।’

सुरुमा आफू खेलाडी हुन्छु भनेर नसोचेकी कल्पना देशको सेवक बन्न चाहन्थिन्। जनताको सेवामा रमाउन चाहन्थिन्। 

‘म आर्मीमा भएर खेलाडी हुन्छु भन्ने केही सोचेकी थिइनँ। देशको सेवक भएर र जनताको सेवा गर्छु। आवश्यक परे लडाइँमा जान्छु भनेर आएको थिएँ’, विगत सम्झिँदै उनी भन्छिन्, ‘आर्मीको आन्तरिक फायरिङमा ५ सय जनामा प्रथम भएपछि धेरैका सल्लाहमा सुटिङमा आएँ।’

आर्मीका रुपमा फायरिङ गर्नु र सुटिङ खेलाडीका रुपमा समानता रहेकोले पनि आफूलाई सहज भएको कल्पनाको अनुभव छ। 

फायरिङ गरेर अरु खेल खेलेको भए गाह्रो हुने थियो। तर यहाँ पनि फायरिङ नै गर्नुपर्ने। 

‘सुरुमा केही फरक लागेको थियो। अलिकति फरक भए पनि सक्छु भन्ने लाग्यो’, उनी हाँस्दै भन्छिन्, ‘तर यहाँसम्म आउँदा सुटिङकै लागि बनेको रहेछु भन्ने लागेको छ।’ 

त्यसैले अरु बेलाभन्दा उनमा धेरै जोस जागँर आएको छ। 

भन्छिन्, ‘अझै मैले धेरै गर्नुपर्छ।’

जम्दै छ प्रशिक्षण 
कल्पनालाई अहिले मुख्य प्रशिक्षक अशिम यादवले प्रशिक्षण दिइरहेका छन्। 

उनको प्रशिक्षण पनि पहिलेभन्दा सुधार आएकाे छ। 

कल्पनाकाा प्रशिक्षक यादव भन्छन्, ‘उनले पहिलाभन्दा राम्रो गरिरहेकी छिन्। बीचमा केही डाउन भएजस्तो भएको थियो। अहिले निकै राम्रो छ।’ 

यो खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा फिट हुनुपर्ने बताउँछन् यादव। 

‘नर्भस हुनुहुँदैन। कोरोनाका कारण यो पटकको ओलम्पिक पहिलाभन्दा केही फरक हुन्छ’, प्रशिक्षक भन्छन्, ‘त्यसैले त्यहीअनुसार गर्नपर्छ।’

काेराेनाले १ वर्ष ढिलाइ
अबको तीन साताभित्र विश्व खेलकुदकै सबैभन्दा ठूलो खेलमेला ओलम्पिक जापानमा सुरु हुनेछ।

विश्व नै कोरोना महामारीको चपेटामा परेका कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा १ वर्ष ढिला गरी आयोजना हुनलागेको हो। 

यद्यपि यसको नाम भने टोकियो ओलम्पिक २०२० रहेको छ।

विश्व खेलकुदको कुम्भ मेलाका रुपमा परिचित ओलम्पिकमा नेपालको सहभागिता हुनथालेको पनि ५७ वर्ष भइसकेको छ। 

यसपटक ५ नेपाली प्रतिनिधित्व
यसपटक ५ खेलाडीले ओलम्पिकको अनुभव बुटुल्ने मौका पाएका छन्। 

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगीता वैद्य र २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले बाहेक नेपाली सबै खेलाडीले युनिर्भसालिटी प्लेस वा वाइल्ड कार्डबाट सहभागिता जनाउँदै आएका छन्। 

कुनै पनि देशका खेलाडीले ओलम्पिकबाट वञ्चित हुन नपरोस् भन्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले यस्तो व्यवस्था गरेको हो।

टोकियो ओलम्पिक २०२०का लागि खेलाडीहरु यतिबेला प्रशिक्षणमा व्यस्त छन्। 

यसपटकको गृष्मकालीन ओलम्पिकमा भाग लिने गौरिका सिंहबाहेक सबैले स्वदेशमा प्रशिक्षण गरिरहेका छन्। 

ओलम्पिकका लागि पौडीका एलेक्जेन्डर शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरिसकेका छन्। 

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका भने बेलायतबाटै जापान पुग्नेछिन्। 

गौरिकाले रियो ओलम्पिक २०१६ मा भाग लिएकी थिइन्। सुटिङकी कल्पना परियारसहित एथलेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट पनि केही दिनमा जापान जानेछन्।

कल्पना, र जुडोकी सोनियाले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागी हुँदै छन्। 

एथलेटिक्समा सरस्वती चौधरीले भने युनिर्भसलिटी प्लेसमार्फत सहभागी हुनलागेकी हुन्। 

यसअघि एथलेटिक्समा म्याराथन विधामा गोपीचन्द्र पार्कीले सहभागिता जनाउने भनिएको थियो। 

तर अन्तिम समयमा एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक समितिले म्याराथनमा कोटाभन्दा बढीको नाम आएकोले उनलाई सहभागी गराउन नसकिने पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्तिमार्फत जनाएको थियो। 

छनोट भएर ८ महिनादेखि अभ्यासमा रहेका गोपी जान नपाउने भएपछि उनको ठाउँमा सरस्वतीलाई पठाउन लागिएको हो। 

सरस्वतीले महिला १ सय मिटर दौडमा भाग लिनेछिन्। टोकियो ओलम्पिक साउन ८ देखि २८ गतेसम्म हुनेछ ।

एनओसीले ओलम्पिकका लागि १२ खेलाडीको नाम वाइल्ड कार्डका लागि सिफारिस गरेकोमा २ जना खेलाडीको सहभागिता मात्र सुनिश्चित भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .