समाज


अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा

अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा

अध्यागमन कार्यालय काँकडभिट्टा।


सुमन सुस्केरा
चैत १९, २०८१ मंगलबार १४:२८, विराटनगर

पछिल्लो समय अमेरिकाबाट डिपोर्ट भएका भुटानीहरू फेरि नेपाल प्रवेश गरेर शरणार्थीको रूपमा बसेको पाइएको छ।  अमेरिकी सरकारले अवैध बसोबास गरेको भन्दै भुटानमा ल्याएर बुझाइएका शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गरेका हुन्। 

पछिल्लो एक हप्तामा चार जना त्यस्ता व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ।  गए राति पनि सशस्त्र प्रहरीले एक जना भुटानी शरणार्थीलाई नियन्त्रणमा लिएको छ। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटानले लखेटेपछि नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय अशोक गुरुङलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

लामो समयसम्म नेपालमा शरणार्थीको रूपमा बसेर अमेरिका पुगेका गुरुङ अमेरिकी सरकारको डिपोर्टमा परेका व्यक्ति भएको सुरक्षा निकायले जनाएको  छ। सशस्त्र प्रहरीले  मेचीनगर नगरपालिका –४ को मिलनटुङ्ग सीमा नाकामा  गुरुङलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गुरुङलाई सोधी खोजी गर्दा  परिचय खुल्ने कुनै पनि कागजात नभएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङलाई अध्यागमन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

गत शनिबार पक्राउ परेका तीन जनाको सम्बन्धमा समेत अध्यागमन कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।  अमेरिकाले डिपोर्ट गरेपछि भुटानबाट भारत हुँदै झापा छिरेका तीन जना पूर्व शरणार्थीलाई शनिबार इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको थियो। झापाको दमकस्थित बेलडाँगी शिविरबाट  पक्राउ  परेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ अहिले अध्यागमन कार्यालयको नियन्त्रणमा छन्। 

अमेरिकाबाट निष्कासित भएर भुटान फर्केका पूर्व शरणार्थीहरूलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई भारतबाट नेपाल लखेटेको अनुसन्धानको क्रममा खुलेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।  यसरी पक्राउ परेर अनुसन्धानमा आएकाहरू पहिला नेपालको भुटानी शरणार्थी शिविरमा बसेका र अमेरिकी सरकारले भुटान डिपोर्ट गरेका व्यक्तिहरू रहेको उनीहरूले अनुसन्धानको क्रममा बताएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले जानकारी दिए।

‘अहिले पक्राउ परेकाहरूले अमेरिकाले डिपोर्ट गरेपछि भुटान पुगेपछि त्यहाँबाट भारत हुँदै नेपाल आएको बताउने गरेका छन्’, उनले भने, ‘यो विषयमा कुनै पनि कागजात नभेटिएकोले त्यो सबै प्रमाणहरू मगाउने काम भइरहेको छ।’  

कति शरणार्थीलाई अमेरिकाले भुटान ल्याएर छाड्यो र उनीहरू नेपालसम्म आइपुगे भन्ने तथ्याङ्क कसैसँग पनि छैन। भुटानी शरणार्थी भनिए पनि उनीहरूसँग कुनै पनि प्रमाण भेटिएको छैन।  १० जनालाई डिपोर्ट गरेर भुटान छाडेको भनिए पनि ४ जना पक्राउ परिसकेको र अरू कहाँ छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad