समाज


घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

नेपालखबर
असार ३०, २०८२ सोमबार ७:२३, कैलाली

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ। यसपटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताए । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो।


डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले यही असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताए । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन्। 

‘कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,’ फिल्ड अधिकृत डगौराले भने । उनका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ।

घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई  विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो। त्यति बेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन्। चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते  नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो।

तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए। सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ। 

घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उनले बताए। घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भने, ‘पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ।’ 

गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad