डोटीमा जिप दुर्घटना हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ। डोटीको आर्दश गाउँपालिका १ खिराधार धौलामाटीस्थित दीपायल सायल भित्री सडकमा जिप दुर्घटना भएको हो।
डोटीको सायल गाउँपालिका ४ सुन्डका ४१ वर्षीय हरुदेवी विक र जिप चालक आदर्श गाउँपालिका ७ दडिमानाका २७ वर्षीय सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी सायल गाउँपालिका ६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको उपचारको क्रममा मृत्यु भएको हो।
दुवै खुट्टा, निधार, ढाड र शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ। आदर्शबाट मेल्लेख तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १३९५ नम्बरको जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट २५० मटिर तल भिरमा खसेको थियो।
दुर्घटनामा परेर ५ जना घाइते भएका छन्। आदर्श गाउँपालिका ३ नुवाकोटका १४ वर्षीय अनिता विक, सोही ठाउँकी १६ वर्षीया स्यानु विक, आर्दश गाउँपालिका ७ दडिवानाका १४ वर्षीय दीपक विष्ट र सायल गाउँपालिका ६ कटुवाल गाँउकी १० वर्षीया सविता कटुवाल गम्भीर घाइते छन्।
घाइते आर्दश गाउँपालिका ७ दडिवानाका २२ वर्षीय कैलाश विष्टको अवस्थामा मध्यम छ। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया