बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा फेरि अर्को जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको जिप दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको हो। जिप सडकबाट करिब सय मिटर तल खसेको छ। जिपमा चालक थापा मात्र सबार थिए।
बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जिप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
दुर्घटनामा जिप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उनकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। रासस
Shares

प्रतिक्रिया