बझाङको छबिसपाथिभेरा–४ ब्याँसीस्थित सडकमा काम गर्ने एक मजदुरको हत्या भएको छ।
जाजरकोटको भेरी नगरपालिका–४ का ५२ वर्षीय गोपाल विकको हत्या भएको हो। नातामा साला पर्ने त्यही ठाउँका २७ वर्षीय रोहन सुनारले उनको हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
मंगलबार राति रोहनले मदिरा सेवन गरी भिनाजु गोपालको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘जाजरकोटका एउटै गाउँका ९ जना मजदुर यहाँस्थित सडकमा काम गर्थे,’ प्रहरी निरीक्षक अवस्थीले भने, ‘बान्नीकी चैतली मेलाका कारण काम बन्द थियो, मेलापछि दुबै जनाले सस्तोखालको मदिरा सेवन गरेको र त्यसपछि बिवाद हुँदा रोहनले हत्या गरेको खुलेको छ।’
रोहनले गोपालको टाउकोमा ढुङ्गा प्रहार गरेको पाइएको छ। त्यसपछि उनी भुइमा खसेको र त्यहाँबाट शव घिसारेर एक किलोमिटर टाढा खोल्सामा फालेर स्याउलाले छोपेको भेटिएको छ।
राति घटना हुँदा अन्य ७ जना मजदुर भने सुतिरहेका थिए। भोलिपल्ट बिहान फिल्डमा रगतका टाटा र दुबैजना अनुपस्थित देखेपछि अन्य मजदुरहरुले प्रहरीलाई खबर गरेका थिए।
हत्या गरी फरार भएका रोहनलाई प्रहरीले देउराबाट नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक अवस्थीका अनुसार बसमा चढेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।
मदिरा पिएपछि विवाद हुँदा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया