बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको कानुनी टिममा राजनीतिज्ञसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि थपिएका छन्।
सन्दीपको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते (भोलि) का लागि पेसी तोकेको छ।
सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका हुन्।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका बिडारी फरक वाक्कलाका लागि चर्चित छन्।
सन्दीपको कानुनी टिमको संयोजन गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले पहिलेको टिममा बिडारीसहित ३ जना वरिष्ठ अधिवक्ता थपिएको जानकारी दिए।
‘हामीले पछिल्लो समय वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, सुदन लोप्चन र अमिता सैँजु थपेका छौँ’, उनले भने।
उनका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ।
जसमध्ये ९ जना सुरुदेखि अर्थात् जिल्ला अदालत काठमाडौँमा भएको बहसदेखि नै सन्दीपको कानुनी टिममा छन्।
अधिवक्ता घिमिरेका अनुसार उनीहरू हुन्– वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सबिता भण्डारी, अधिवक्ताहरू मुरारी सापकोटा, रोशनी पौड्याल, रामकुमार माझी, रामेश्वर न्यौपाने र संयोजनकर्ता सरोजकृष्ण घिमिरे आफैँ।
गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ।
उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ।
Shares

प्रतिक्रिया