समाज


पत्रकार पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेसहित तीन जना पक्राउ

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेसहित तीन जना पक्राउ

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:५९,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका छन्।

न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रोस्तोता रवि लामिछाने तथा सोही कार्यक्रमका सञ्चारकर्मी युवराज कँडेल काठमाडौंबाट पक्राउ परेका हुन्। उनीहरूलाई काठमाडाैं प्रहरीको टोलीले लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो। दुवैलाई आजै चिवतन पठाउने तयारी गरिएको छ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेलसँगै अस्मिता कार्की अनुसन्धान घेरामा थिए। प्रहरीले कार्कीलाई दिउँसै नियन्त्रणमा लिएर चितवन पठाइसकेको छ।

मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का दुई सञ्चारकर्मीसहित ती युवतीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख गरेका छन्। यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ।

पत्रकार पुडासैनीले साउन २० मा चितवनको होटल कंगारूमा आत्महत्या गरेका थिए। घटना अनुसन्धान चितवन प्रहरीले नै गरिरहेको छ।

मर्नुअघि उनले रेकर्ड गरेको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन्।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए।

भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्।

चितवन  प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो। मोबाइल तथा भिडियो प्रमाणित भएसँगै रवि पक्राउ गरेको हो।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रारम्भिक अनुसन्धान पहिलै पूरा गरेको हो। प्रारम्भिक अनुसन्धानबाट न्युज२४ छोडेर गएपछि शालिकराम र रविबीच मोबाइल सम्पर्क नभएको निष्कर्ष आएको थियो। रविले सामान्यतः फोन कल उठाउँदैनन्। साथीमार्फत् कुराकानी गर्छन्। यो प्रकरण सुरु भएसँगै एक हप्ता अगाडि उनले फेसबुक भिडियोबाट कल डिटेल, मेसेज चेक गर्न प्रहरीलाई चुनौती दिएका थिए।

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएको भिडियोमा उल्लेख छ।

पत्रकार पुडासैनीले माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको एवं रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आत्महत्या गर्न विवश भएको भिडियोमा उल्लेख छ। युवती र सिधा कुरा जनतासँगबीच छलफल भए नभएको बारे प्रहरी अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन।

२०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न ‘दुरुत्साहन’ गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यो कानुनअनुसार पनि ‘सिधा कुरा जनतासँग’का दुई सञ्चारकर्मी स्वतः अनुसन्धान घेरामा थिए।

प्रहरीकाअनुसार मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो फरेन्सिक ल्याबबाट परीक्षण भएसँगै उनीहरूलाइ पक्राउ गरिएको हो। भिडियोको वास्तविकता, अडियो ट्रिक्स गरी भोइस ओभर गरेको कि विस्तृत विवरणसहितको प्रतिवेदन बिहीबार दिउँसो चितवन पुगेको थियो। प्रतिवेदनको निष्कर्षका अधारमा प्रहरीले तीनै जना पक्राउ गरेको हो।

यो पनि: पत्रकार शालिकराम पुडासैनीको भिडियो बयानः ‘मेरो हत्यारा रवि लामिछाने हो’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .