ad ad

समाज


नेपाल नजिकै आयो न्यून चापीय रेखा, कम्तीमा ३ दिन देशभर व्यापक वर्षाकाे सम्भावना

नेपाल नजिकै आयो न्यून चापीय रेखा, कम्तीमा ३ दिन देशभर व्यापक वर्षाकाे सम्भावना

नेपालखबर
साउन ५, २०७७ सोमबार १:५४,

मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आएको छ। जसका कारण अब कम्तीमा तीन दिन देशभर व्यापक वर्षा जारी रहने अनुमान मौसमविद्ले गरेका छन्।

उसो त शनिबार रातिदेखि नै देशभर वर्षा भइरहेको छ। धेरैजसो स्थानमा हल्कादेखि मध्यम तथा कतिपय स्थानमा भारी वर्षासमेत भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले (सोमबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। ‘प्रदेश २ का कतिपय स्थानमा त अहिले भारी वर्षासमेत भइरहेको छ,’ उनले भनिन्, ‘अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा जारी छ।’

उनका अनुसार न्यून चापीय रेखा नजिकिएपछि लगातार र भारी वर्षा हुने सम्भावना बढी हुन्छ। ‘मनसुनका बेला पानी त पर्छ नै,’ मौसमविद् बासीले भनिन्, ‘तर न्यून चापीय रेखा नजिकिएपछि लगातार र ठूलो वर्षा हुन्छ।’

उनका अनुसार शनिबार रातिदेखि नै देशका प्रायः स्थानमा निरन्तर वर्षा भइरहेको छ। ‘कहिले कम कहिले बढी, कहिले एकैछिन रोकिनु बेग्लै कुरा हो, तर वर्षा भइरहेको छ,’ उनले भनिन्, ‘अब कम्तीमा तीन दिन अलि सतर्क हुन जरुरी छ।’

यस विषयमा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायले केही दिनअघि नै सूचना जारी गरेर सचेत गराइसकेका छन्।

याे पढ्नुहाेलाआइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)

उनका अनुसार गत २४ घण्टामा नवलपुरमा १५१ मिलिमिटर वर्षा भएको छ भने चितवनमा १३१ मिलिमिटर वर्षा भएको छ। यसैगरी काठमाडौं उपत्यकाअन्तर्गत सुन्दरीजलमा ४८.३ मिलिमिटर वर्षा भएको छ। मैसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ भने भारी वर्षा अझ बढी ठाउँमा हुने बुलेटिनमा उल्लेख छ। राति प्रदेश १,२,५, बागमती, गण्डकी र सुदूरपश्चिमका समेत केही स्थानमा भारी वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका एक वा दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .