ad ad

छापा खबर


प्रचण्डको युटर्न : उनी चलायमान छन् कि अस्थिर?

प्रचण्डको युटर्न : उनी चलायमान छन् कि अस्थिर?

नेपालखबर
साउन ५, २०७७ सोमबार २:२७,

नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ- उनी चलायमान हुन् कि अस्थिर?

उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा उत्रने। तिनै आलोचकसँग उत्तिखेरै मिल्न सक्ने। फ्याट्ट बोल्ने। फेरि फनक्क फर्किने। बुझ्न गाह्रो पार्ने विशेषता यिनै हुन्।

अरूलाई त छाडौं स्वयंलाई थाहा छैन– उनी अस्थिर हुन् गतिशील। एउटा सार्वजनिक कार्यक्रममा चासो उठ्दा उनले यसबारे जवाफ दिएका थिए, ‘परिस्थिति कस्तो बनेको छ, त्यसको माग के छ, जनताको भावना र मनोविज्ञान कस्तो छ भन्नेमा मेरो बढी ध्यान जान्छ। त्यसैअनुसार आफूलाई ढाल्ने गर्छु। कतिपयले गतिशील त कतिपयले अस्थिर भनेर बुझ्ने सम्भावना त्यसैमा छ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्- दाहालको राजनीतिक जीवनमा धेरै यस्ता मोड आए, जसमा उनले ‘बोल्ड डिसिजन’ लिएका छन्। तुरुन्तै कमजोरी भयो भन्दै आत्मालोचना र गल्ती स्वीकार गरेका छन्। त्यही स्वभावकै कारण उनले गत वैशाखयता मात्रै आफूलाई पार्टीभित्रको आन्तरिक विवादमा निक्कै कठोर पनि देखाए र तुरुन्तै लचिलो बने। त्यही कारण सहयात्री र शुभचिन्तक भुसुक्कै जिल्लिए।

शनिबारको नेकपा सचिवालयमा उनको प्रस्तुति, ‘बडी ल्याङ्वेज’ र हाउभाउ त्यस्तै लचकताको गतिलो प्रमाण थियो। दाहालकै नेतृत्वमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागियो। त्यसलाई कठोर अडानका रूपमा उनले लिँदै आए।

त्यसमा साथ दिएका थिए– वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ। तर, तिनै नेताहरूसमेत चकित हुने गरी शनिबारको सचिवालय बैठकमा ओलीसँगै मिलेर प्रस्तुत भए।

बहुमतले घेराबन्दीमा पारेका ओलीले पार्टी सचिवालयमा मंसिरमै महाधिवेशनको प्रस्ताव राखे। ओलीसँगै दुई घण्टा एक्लाएक्लै छलफलमा बसेर सचिवालय बैठकमा आएका दाहालले ओलीको उक्त प्रस्तावमा पूर्ण समर्थन जनाए। आफैंसँग ओलीको राजीनामा माग गरिरहेका नेतालाई त्यसको सुइँकोसम्म दिएनन्।

‘पार्टीमा विवाद धेरै भए। बीचमा धेरै लामा छलफल–बहसहरू भए। निष्कर्ष निस्कन सकिरहेको थिएन। हामीले आजै पनि दुई अध्यक्षबीच छलफल ग¥यौं। प्रधानमन्त्रीले भन्नुभयो, अब महाधिवेशन छिटो गरेर जाऔं। ठीक छ, अब महाधिवेशनबाटै जाऔं’, ओलीको प्रस्तावमा दाहालको समर्थन थियो। तर, दाहाल त्यो भनाइमा ५ घण्टा पनि अडिएनन्। स्वकीय सचिवसमेत रहेकी छोरी गंगामार्फत सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्न लगाए– कुनै सहमति जुटेको छैन भनेर।

दाहालले यसरी सबैलाई पुनः जिल्याए– आइतबार बिहान आउँदासम्म त शनिबारको बोलीमा ‘यू टर्न’ मारिसकेका थिए। खुमलटार निवासमा खनाल, नेपाल, श्रेष्ठलगायत करिब दर्जन स्थायी समिति सदस्यसामु उनले भने,‘हिजो (शनिबार) को बैठकमा महाधिवेशनको प्रस्तावमा आलोचना गर्न नसक्नु र नरम रूपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो। तर, म तपाईंहरूको साथमै छु। निश्चिन्त हुनुहोस्, ओलीजीसँग मैले कुनै सहमति गरेकै छैन।’

महाधिवेशनको प्रस्तावपछि पार्टीको नयाँ मोडबारे ज्ञात हुन आइतबार दाहाल निवासमा नेताहरूको ओहोरदोहोर निकै चल्यो। केहीलाई दाहाल आफैंले बोलाएका थिए। केही भने समय लिएरै पुगेका थिए। त्यहाँ उनले सुरुमा सचिवालयका नेताहरू नेपाल, खनाल र श्रेष्ठलाई राखेर आप्mना कुरा सुनाए। उपाध्यक्ष गौतमले पहिल्यै एक्लै भेटेका थिए। महासचिव विष्णु पौडेलले पनि अलग्गै भेटे। जनार्दन शर्मा र देवेन्द्र पौडेल त्यसअघि नै पुगिसकेका थिए।

सचिवालयका नेताहरूसँग बिफ्रिङ गरिरहेका बेला थपिएका थिए– स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, वर्षमान पुन, पम्फा भुसाललगायत। त्यहाँ दाहालले महाधिवेशनमा समर्थन र राष्ट्रपति निवासमा आफ्नो उपस्थितिबारे प्रष्टीकरण दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .