ad ad

समाज


ताप्लेजुङका २५ परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङका २५ परिवार बाढी पहिरोबाट विस्थापित

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार १३:१०, ताप्लेजुङ

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ।

यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ।

यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का छ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन्।

बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ । जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए । फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो 

यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन् । मनसुन सुरु भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन्।

बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् । यता सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन्। 

बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .