ad ad

समाज


लुट्न गएका प्रहरीको भागमा ३० लाख, झोलामा नअटेपछि छाडे डेढ करोड

डिल्लीबहादुरको दराजमा साढे तीन करोड
लुट्न गएका प्रहरीको भागमा ३० लाख, झोलामा नअटेपछि छाडे डेढ करोड

उजिर कार्की
असार ११, २०८१ मंगलबार २२:१८, काठमाडौँ

नेपाल प्रहरीका बहालवाला प्रहरी हवल्दारकै संलग्नतामा भक्तपुरमा लुटपाट भएको पुष्टि भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जनालाई मंगलबार सार्वजनिक गरेको हो।

२०८१ असार ४ गते दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित डिल्लीबहादुर राउतको घरबाट २ करोड रुपैयाँ लुटपाट भएको थियो।

लुटपाटको योजना डिल्लीबहादुरकै मामा कुलबहादुर खत्रीले बनाएको र उनले अरुलाई रकम दिएर परिचालन गरेको खुलेको छ। लुटेरा समूहमा नेपाल प्रहरीका बहालवाला हवल्दार पनि रहेको खुलेको छ।

सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका २ घर भई हाल नेपाल प्रहरीको २ नम्बर गणमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षका कृष्णबहादुर बोहरा पनि लुटपाट आरोपमा पक्राउ परेका छन्।

उनीसँगै प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३० वर्षका सुजन रसाइली, सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका २ घर भई गोकर्णेश्वरमै बस्ने ३१ वर्षका भिमबहादुर तामाङ र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३६ वर्षका मुनाराज राईलाई पक्राउ गरेको हो।

हवल्दारलाई ३० लाख, अरुलाई २०/२० लाख
लुटेरा समूहले हवल्दार बोहरालाई ३० लाख रुपैयाँ दिएको खुलेको छ। पक्राउ परिसकेपछि उनले पनि आफूले ३० लाख रुपैयाँ पाएको स्वीकार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

लुटपाटमा संलग्न प्रहरी हवल्दार कृष्णबहादुर बोहरा

राउतको घरमा दिउँसै लुट्न जाँदा चार जना दुई वटा २२० सीसीका पल्सर मोटरसाइकलमा पुगेका थिए। उनीहरूले राउतको घरमा पुगेपछि आफूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी हौँ भनेका थिए। त्यसबेला उनीहरूले प्रहरी हवल्दार बोहराकै परिचय पत्र देखाएको खुलेको छ।

पीडितसँग झण्डै साढे तीन करोड रुपैयाँ रहेको खुलेको छ। त्यतिधेरै रकमको श्रोत खुलाउन नसक्ने भएकाले प्रहरीले रकम बरामद गर्दा पीडितले प्रहरीमा पनि उजुरी नगर्ने र आफूहरू बच्ने लुटेरा समूहको बुझाइ थियो।

त्यही भएर उनीहरूले हवल्दार बोहरालाई लगेका थिए। लुटपाट गरेको रकम डिल्लीबहादुरकै मामाले बाँडेका थिए। उनले हवल्दार बोहरालाई ३० लाख रुपैयाँ दिएर अरु तीन जनालाई २० लाख रुपैयाँका दरले दिएको खुलेको छ। बाँकी रकम भने उनले नै लगेको पक्राउ परेको आरोपीहरूले प्रहरी समक्ष बताएका छन्।

प्रहरी हवल्दार भिमबहादुर तामाङका साथी हुन्। कुलबहादुरको योजना अनुसार भिमले सिन्धुपाल्चोककै बोहरालाई पनि समूहमा ल्याएका हुन्। भिमबहादुर र प्रहरी हवल्दार सँगै पढेका हुन्। उनले हवल्दार बोहरालाई एक पटक प्रहरीको कार्ड देखाइदे त्यसबापत पैसा आउँछ भनेको खुलेको छ। उनको साथबाट ९ लाख ८४ हजार रुपैयाँ बरामद भएको छ।

झोलामा नअटेपछि दराजमै छाडे डेढ करोड
राउतको घरमा रहेको दराजमा झण्डै साढे तीन करोड रुपैयाँ रहे पनि दुई करोड मात्रै लुटपाट गरेको खुलेको छ। लुटेराले पूर्व योजना अनुसार नै दुई वटा झोला बोकेर गएका थिए। झोलामा दुई करोड मात्रै अटेकाले अरु रकम दराजमै छाडिदिएको बताएका छन्।

दराजमा एक करोड ३५ लाख रुपैयाँ रहेको पीडितको भनाई छ। आफ्नो घरमा लुटपाट भएपछि डिल्लीबहादुरले सुरुमा उनै मामा कुलबहादुर खत्रीलाई सुनाएका थिए। लुटपाटको योजनाकार नै उनी भएको कुरा डिल्लीबहादुरलाई थाहै थिएन।

उनले फोन गरेपछि कुलबहादुर उनको घरमा गएका थिए। ४ गते नै भान्जाको घरमा पुगेर उनीहरूले एक करोड रुपैयाँ ट्राभल एजेन्सीलाई बोलाएर जम्मा गर्न लगाएका थिए। जुन ट्राभल एजेन्सीबाट उनीहरूले वैदेशिक रोजगारीमा पठाउँदा कारोबार गर्थे। मामा भान्जा नै वैदेशिक रोजगारमा श्रमिक पठाउने काम गर्छन्।

उनीहरूले बोलाएपछि ट्राभल एजेन्सीका सञ्चालक ट्याक्सीमा आएर एक करोड रुपैयाँ लिएर गएको पाइएको अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताए। ट्राभल एजेन्सीले विभिन्न व्यक्तिको नाममा उक्त रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ।

त्यसपछि बाँकी रहेको ३५ लाख रुपैयाँ भने मामा कुलबहादुरले फेरि प्रहरी आउन सक्छन् भन्दै आफ्नो घर लगेको खुलेको छ।  

पीडितले गरेनन् प्रहरीमा उजुरी
आफ्नो घरबाट २ करोड रुपैयाँ दिउँसै लुटपाट हुँदा पनि पीडित डिल्लीबहादुर मल्लले भने प्रहरीलाई खबर गरेका थिएनन्। उनलाई मामा कुलबहादुरले प्रहरी कार्यालयमा उजुरी गरे रकमको श्रोत खोज्ने भएकाले आफैँलाई अप्ठेरो पर्ने भएकाले कसैलाई नभन्न र सबै कुरा आफूले मिलाउने जवाफ दिएका थिए।

कुलबहादुरकै सल्लाह अनुसार डिल्लीबहादुरले प्रहरीलाई खबर नगरेको पाइएको हो। तर डिल्ली बहादुरले कुलबहादुर बाहेक भारतमा भएका अर्का आफन्तलाई पनि सुनाएका थिए। उनले भने जिल्ला प्रहरी परिसर भक्तपुरमा खबर गरेका थिए।

भक्तपुर परिसरले अपराध अनुसन्धान कार्यालयमा खबर गरेपछि अनुसन्धान अगाडी बढेको थियो।

लुटेरा समूहको पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो। सँगै अन्य प्राविधिक विश्लेषण पनि गरेको थियो।

भक्तपुरमा सीसीटीभी फुटेजमा ४ जना मान्छे दुई वटा मोटरसाइकलमा देखिएका थिए। तर मोटरसाइकलको नम्बर हिलोले छोपिएको थियो।

रकम लुट्न मोटरसाइकलमा जाँदै गर्दाको सीसीटीभी फुटेज

दुई दिनपछि प्रहरीले सम्भावित मोटरसाइकलको पहिचान गर्छ। तर ती व्यक्ति दोलखामा हुन्छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखा गएर मोटरसाइकल धनीलाई बुझ्दा उनले आफन्त पर्ने सुजनलाई मोटरसाइकल प्रयोग गर्न दिएको बताउँछन्।

त्यसपछि प्रहरीले सुजनको खोजि थाल्छ। सुजन पनि दोलखाकै कालिन्चोक गएका हुन्छन्। त्यहाँबाट फर्किने क्रममा प्रहरीले साँगाबाट पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेपछि पनि उनले भने सुरुमा इन्कार गरेका थिए। तर पीडितकी आमाले लुटपाटमा संलग्न व्यक्ति मध्येका उनी पनि भएको ठम्याउँछिन्। उनीमार्फत भिमबहादुरको पहिचान हुन्छ।

यी दुई जनाको सहयोगमा प्रहरीले मुनाराजको पनि संलग्नता पुष्टि गर्छ। उनी भने ओखलढुंगा पुगिसकेका थिए। उनलाई पनि प्रहरीले उहीँबाट पक्राउ गरेको थियो।

यी तीन जनालाई पक्राउ गरिसकेपछि मात्रै प्रहरी हवल्दार बोहराको पनि संलग्नता खुलेको हो। महाराजगन्जस्थित २ नम्बर गणमा कार्यरत बोहरालाई भने कार्यालयबाटै सोमबार पक्राउ गरिएको हो।

कहाँबाट आयो साढे तीन करोड? डिल्लीबहादुर राउतले दराजमा थन्क्याएको झण्डै साढे तीन करोड रुपैयाँ भने वैदेशिक रोजगारीमा पठाउने व्यक्तिबाट संकलन भएको खुलेको छ। उनका भाइ क्रोएसियामा कार्यरत छन्।

डिल्लीबहादुर र उनका भाइ मिलेर क्रोएसियामा वैदेशिक रोजगारीमा पठाउने काम गर्छन्। उनीहरूले क्रोएसियामा एक जनालाई पठाउँदा भिसाका लागि ४ हजार यूरो बराबरको रकम उठाउँछन्।

तर यहाँ उठाएको रकम क्रोएसियामा नपठाइ क्रोएसियामै रहेका भाइले त्यहाँ बुझाउने र डिल्लीबहादुरले यहाँ उठाएको रकम आफूसँग राख्ने गरेको प्रहरीको भनाई छ। यो सबै कुरा थाहा पाएका आफ्नै मामा कुलबहादुर खत्रीले नै डिल्लीबहादुरको घरमा लुटपाट गराएको अनुसन्धानबाट खुलेको छ।

सिन्धुली घर भएका कुलबहादुर भने हाल फरार छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .