राजनीति


भदौ १५ सम्म लकडाउन थप्न उपत्यकाका मेयरहरुकाे सुझाव

भदौ १५ सम्म लकडाउन थप्न उपत्यकाका मेयरहरुकाे सुझाव

नेपालखबर
भदौ ८, २०७७ सोमबार १२:३४,

उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको बताए।

बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ।

यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवस्यक रहेको बताए। अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको बताए।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोहीपनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए।

काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ। त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ४ गतेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्।

तरपनि उपत्यकामा संक्रमणको दर घट्न सकेको छैन। त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad