कारोबार


कालीमाटीमा नबढेको तरकारीको भाउ पसलमा किन अचाक्ली महँगो?

कालीमाटीमा नबढेको तरकारीको भाउ पसलमा किन अचाक्ली महँगो?

नेपालखबर
भदौ ८, २०७७ सोमबार १२:२५,

सोमबार बिहान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कालीमाटी तरकारी बजार पुगे। कोरोना संक्रमणबाट बच्न व्यवसायीले गरेको सावधानीबारे चासो राखे।

तरकारी तथा खाद्यान्नमा कोरोना संकटमात्र होइन, उपभोक्ताको भान्सा नै संकटमा पर्ने गरी भाउ उकालो लागेको छ। मन्त्री भट्टले त्यसबारे पनि चासो राखे।

पछिल्ला दिनमा तरकारीको भाउ मन्त्रीले अनुगमन गरेको कालीमाटी तथा बल्खु बजारमा मात्र होइन, उपभोक्ताले किन्ने खुद्रा पसलमा अचाक्ली महंगिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा लगाए पनि तरकारी आपूर्तिमा खासै फरक परेको छैन।

बेसिजनका कारण केही तरकारी सामान्य महंगो भएको छ भने कतिपय तरकारीको मूल्य भने घटेको मूल्यसूची कालीमाटी बजारमा छ। आपूर्ति सहज भइरहेकाले अभावकै करण तरकारी नमहंगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए।

‘अहिले तरकारी अभावकै कारण मूल्यवृद्धि हुने अवस्था छैन’, श्रेष्ठले नेपालबखरसँग भने, ‘तरकारी आपूर्ति सहज छ।’

काठमाडौंमा निषेधाज्ञा सुरु भएपछि पनि दैनिक ४ सयदेखि ५ सय टन तरकारी आपूर्ति भइरहेको उनले बताए। जब कि सामान्य अवस्थामा ७ सय टनसम्म आपूर्ति हुन्थ्यो। निषेधाज्ञा भए पनि तरकारी तथा खाद्यान्न आपूर्तिमा अवरोध छैन। भारतबाट पनि सहज रुपम आइरहेको छ। भारतबाट खासगरी आलु र ब्याजमात्र आयात भइरहेको छ।

‘भारतबाट ताजा तरकारी आएको छैन, आलु र प्याज मात्र हो’, श्रेष्ठले भने, ‘ताजा तारकारी काठमाडौंका वरिपरिका जिल्लाबाट आइरहेको छ।’

उपत्यकासहित काभ्रे, सिन्धुली, धादिङ, नुवाकोट, चितवनलगायतका जिल्लाबाट काठमाडौंमा तरकारी आइरहेको छ। वर्षायाम तरकारीको लागि ‘अफ सिजन’ भएकाले पनि सामान्य वृद्धि हुने श्रेष्ठले बताए। हरेक वर्ष यस बेला तरकारीको मूल्य सामान्य वृद्धि हुने उनी बताउँछन्।

बजारमा भने उनले भनेजस्तो सामान्य नभएर तरकारीको मूल्यमा उच्च वृद्धि छ। खुद्रा व्यवसायीबाट मूल्यमा उच्च वृद्धि गरेको हुनसक्ने श्रेष्ठ बताउँछन्। जस्तो कि निषेधाज्ञा हुनुभन्दा पहिला १६० देखि १७० रुपैयाँसम्म पाइने मुढेको आलु सोमबार २२० रुपैयाँ धार्नी पुगेको छ। टमाटरको मूल्यमा पनि त्यत्तिकै उच्च छ।

उपभोक्ताहरुले बजारमा हरेक तरकारीको मूल्य उच्च भएको बताउँछन्।

केही तरकारीको मूल्य थोकमा ५८ प्रतिशतसम्म वृद्धि
कालीमाटी बजारबाट बिक्री हुने तरकारीको थोक मूल्यमा एक हप्ताको ५८ प्रतिशतसम्म वृद्धि भएको छ। यस अवधिमा सबैभन्दा धेरै कागती, गोलभेँडा, बोडी, भटमासको कोशा, काँक्रोमा मूल्यवृद्धि भएको छ।

भदौ १ गते १५५ रुपैयाँ किलो रहेको कागती २४५ रुपैयाँमा पुगेको छ। त्यस्तै, सानो गोलभेँडा ४४ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने टनेलको गोलभेँडा ४० बाट ६२ रुपैयाँमा पुगेको छ।

बोडीको थोक मूल्य ४० प्रतिशतले वृद्धि हुँदै ६८ बाट ९५ रुपैयाँ पुगेको छ भने भटमासको कोशा ६८ रुपैयाँ किलोबाट १०५ मा पुगेको छ।

केही तरकारीको भने मूल्य घट्यो
कालीमाटीमा तरकारीको मूल्य बढेको मात्र छैन, घटेको पनि छ। केही तरकारीको मूल्य ३५ प्रतिशतसम्म घटेको छ।

लाम्चो भान्टा ५८ रुपैयाँ प्रतिकिलोबाट ४८ मा झरेको छ। तीतो करेला २५ रुपैयाँ प्रतिकिलोबाट १८, स्कुस ४८ प्रतिकिलोबाट ४५, च्याउ (कन्य) १९५ रुपैयाँ प्रतिकिलोबाट १२५ रुपैयाँ प्रतिकिलोमा झरेको छ।

त्यस्तै, जिरीको साग, तामा, खुर्सानी, हरियो धनियाँलगायतका तरकारीको बजार मूल्य पनि सस्तो बनेको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad