धनुषामा एकजना पूर्ववडाध्यक्ष मृत अवस्थामा फेला परेका छन्। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।
सबैला नगरपालिका–१२ का पूर्ववडाध्यक्ष प्रदिप महतोको शव फेला परेको प्रहरीले जनाएको छ।
धनुषाकै गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको बुधबार राति ११ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
प्रहरीका अनुसार शव भेटिएको स्थलमा १०÷१२ वटा बियर लगायत अन्य मादक पदार्थका खाली बोतलसमेत भेटिएको छ।
महतोसहित आठ÷नौ जनाकोे समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
मृत्युको ठोस कारण खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर विजय दत्तले छानबिन र शव परीक्षणपछि मात्रै घटनाको वास्तविकता खुलने बताए।
उनको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले मृतकको औंला सहितका केही भागमा चोटपटक देखिएको छ।
‘प्रारम्भिक अनुसन्धानले उहाँको हत्या नै भएको देखिएको छ,’ न्यौपानले भने, ‘तर यकिन कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ।’
मदिरा खाँदा महतोसँगै रहेका भनिएका व्यक्तिहरु हाल फरार छन्। उनीहरुको पहिचान गर्ने तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिए।
मृतक महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट सबैला नगरपालिका-१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया