समाज


सागरनाथ परियोजनाका वन हेरालुको हत्या: घटनास्थल नजिकै झाडीमा भेटियो टाउको

सागरनाथ परियोजनाका वन हेरालुको हत्या: घटनास्थल नजिकै झाडीमा भेटियो टाउको

नेपालखबर
पुस २०, २०८२ आइतबार १४:२१, सर्लाही

शनिबार शव भेटिएको सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कर्मचारी रामईश्वर महतोको आज टाउको फेला परेको छ।

घटनास्थलभन्दा एकसय मिटर उत्तरमा रहेको झाडीमा मृतकको टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

‘खोजीको क्रममा आज मृतकको टाउको फेला परेको छ,’ सर्लाहीका डीएसपी सरोज राईले भने, ‘हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

शनिबार साँझ ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी ४७ वर्षीय  महतोको टाउको बिनाको शव गाउँ नजिकैको जंगलमा भेटिएको थियो। उनी परियोजनाका वन हेरालु मजदुर हुन्। 

शनिबार बिहान घरबाट काममा निस्किएका महताेको टाउको काटिएको अवस्थामा शनिबार साँझ शव भेटिएको थियो। 

शव नजिकै रगत लतपलिटएको बञ्चरो पनि फेला परेको छ।  घटनास्थलको प्रकृति हेर्दा त्यही बञ्चरोले घाँटी गिँडेको जस्तो देखिने प्रहरीले जनाएको छ। 

प्रहरीले यो घटना अनुसन्धानको लागि लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएको थियो। महतोको हत्यामा संलग्न गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तर, प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन। 

उनलाई रगत लतपतिएको कपडासहित पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिएका छन्। 

घरदेखि करिब पाँचसय मिटर पर सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको बाटोदेखि अन्दाजी एकसय मिटर पूर्वतर्फ झाडीमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको हो। खोजी गर्ने क्रममा सुरुमा महतोकै ज्वाइँ वीरबहादुर सिंहले शव भेटेका थिए। 

शनिबार बिहान ५ बजेतिर जंगलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो साइकल चढेर त्यसतर्फ गएका थिए। 

उनी साँझसम्म पनि घर फर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। उनको फोनसमेत स्वीच अफ छ। 

प्रहरीले टाउको बिनाको शव पोस्टमार्टमका लागि गएराति नै प्रादेशिक अस्पताल मलंगवा लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad