समाज


लहानमा जंगली हात्तीले ६ वटा घर भत्कायो

ज्यान जोगाउन घर छाडेका गाउँलेको रातभर जंगलमा बास
लहानमा जंगली हात्तीले ६ वटा घर भत्कायो

नेपालखबर
पुस २०, २०८२ आइतबार ८:११, सिराहा

सिरहको लहान नगरपालिका-१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा छ वटा घरमा क्षति पुगेको छ। 

चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात र तरकारी बाली नष्ट गरेका छन्।

वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भुपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरीबहादुर थापा मगरको घरमा क्षति पुर्याएको हो।

‘हात्तीले घर मात्र होइन, अन्नपात र करेसाबारीमा लगाएको तरकारीसमेत नष्ट गरेका छन्’, उनले भने, ‘हात्तीको आक्रमणबाट करिब रु तीन लाख बराबरको क्षति भएको छ।’

स्थानीय हरीबहादुर मगरले हात्ती प्रवेश गरेपछि गाउँले त्रसित बनेका बताए। 

‘चार वटा हात्ती साँझतिर गाउँ पसेपछि हामी सबै घर छाडेर जङ्गलतिर भाग्यौँ’, उनले भने, ‘हिजो राति जङ्गलमा बिताइयो, आज पनि घरमा बस्न सक्ने अवस्था छैन।’ 

उनका अनुसार ११ दिनको सुत्केरीले जाडोमा बच्चा च्यापेर रातभर जङ्गलमा बस्नुपरेको थियो। ‘जुनसुकै बेला हात्ती गाउँ पस्न सक्छ भन्ने डरले हामी निकै आत्तिएका छौँ’ उनले भने। 

वडाध्यक्ष मगरका अनुसार क्षति पुर्‍याएपछि हात्तीहरू नजिकैको झाँडी क्षेत्रमा शनिबार दिनभर हात्ती बसेका छन्। 

हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ । गाउँलेहरू पनि पालैपालो जाग्राम बसेर हात्तीको गतिविधि हेरेका छन्।

डिभिजन वन कार्यालय लहानका अनुसार प्रायः हरेक वर्ष हिउँदयाममा जङ्गली हात्तीको समूहले सिरहाको लहान, धनगढीमाई, गोलबजार तथा मिर्चैयाको उत्तरी क्षेत्रमा पर्ने गाउँबस्तीमा पसेर तोडफोडसहित आतङ्क मच्चाउने गर्दछन्। 

कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने, ‘चुरे क्षेत्र जङ्गली हात्तीको प्राकृतिक करिडोर हो । वन क्षेत्र अतिक्रमण र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा हात्ती बेलाबेला बस्तीमा पस्ने गरेका छन्।’  

यसैबीच, लहान नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई क्षतिको विवरणअनुसार तत्काल राहत उपलब्ध गराइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad