समाज


२० वर्षीया युवतीको होटलमा रहस्यमय मृत्यु, न्याय माग्दै मेयरको नेतृत्वमा वीरगन्जमा प्रदर्शन

२० वर्षीया युवतीको होटलमा रहस्यमय मृत्यु, न्याय माग्दै मेयरको नेतृत्वमा वीरगन्जमा प्रदर्शन

नेपालखबर
पुस २, २०८२ बुधबार १६:५४, काठमाडौँ

पाँच दिनअघि वीरगञ्जको एक होटलमा मृत भेटिएकी युवतीको हत्या भएको दाबी गर्दै पीडित परिवार र स्थानीयले वीरगन्जमा प्रदर्शन गरेका छन्। 

उनीहरुले पीडितलाई न्याय दिन र घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै बुधबार दिउँसो वीरगन्जमा प्रदर्शन गरेका हुन्। प्रदर्शनको नेतृत्व पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले गरेका थिए। 

पर्साको पर्सागढी-३ झावराहा निवासी २० वर्षीया सुनिता स्याङ्गबो गएको मंसिर २७ गते साँझ वीरगन्जस्थित डेरामा मृत फेला परेकी थिइन्।

सुनिता स्थानीय त्रिशला रेस्टुरेन्ट एण्ड बारमा कार्यरत थिइन्। उनको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। 

तर, पीडित परिवार र स्थानीयले भने उनको हत्या भएको दाबी गरेका छन्। 

अत्यन्तै गरिब परिवारकी सुनिता रेस्टुरेन्टसँगै रहेको धर्मशाला (रेस्टुरेन्ट सञ्चालकले कामदार बस्नका लागि व्यवस्था गरेको डेराको कोठा नम्बर १०४) मा मृत भेटिएकी हुन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले प्रहरीले सुक्ष्म ढंगले घटनाको अनुसन्धान अघि बढाएको बताए। ‘मृतकको शवको पोस्टमार्टम काठमाडौँको टिचिङ अस्पतालमा गरिएको छ। रिपोर्ट आउँन बाँकी छ,’ उनले नेपालखबरसँग भने, ‘शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएका छौँ। अनुसन्धान हुँदैछ।’ 

उनले अनुसन्धानका क्रममा दोषी देखिए कसैलाई नछाड्ने बताए। ‘सुनिताको हत्या वा आत्महत्या के हो पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ। युवतीले लेखेका केही टिपोट पनि भेटिएका छन्। हामी सबै ढंगले घटनाको अनुसन्धान गर्छौँ,’ डीएसपी कार्कीले भने। 

होटल सञ्चालकले भने युवतीले झुण्डिएर आत्महत्या गरेको दाबी गरेका छन्। तर, आफन्त र प्रहरी घटना स्थलमा पुग्नु अगाबै झुन्डिएको भनिएको डोरी खोलिएको अवस्थामा सुनिताको शव भेटिएको आफन्तको भनाई छ। 

यो घटनामा होटल सञ्चालकले परस्पर विरोधी कुरा गर्दै आएको दाबी पनि मृतक युवतीका आफन्तले गरेका छन्। 

होटल संचालक र कर्मचारीले युवती झुन्डिएको भनिएको सल प्रहरी पुग्नुअघि नै काटेका थिए। सोही रेस्टुरेन्टमा सुनितासँगै कार्यरत अर्की युवतीले आफूहरुलाई होटल सञ्चालक र केही पुरुषले पटकपटक दुव्र्यवहार र हातपात गर्दै आएको आरोपसमेत लगाएकी छन्। 

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, पर्सागढी ३ का वडाध्यक्ष सुकमान तामाङसहितको नेतृत्वमा ठूलो संख्यामा गएका स्थानीयले वीरगञ्जमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीले सुनितालाई न्याय दे, दोषीलाई कारबाही गर, मान्छे गर्न पाइँदैन, सत्यतथ्य सार्वजनिक गर जस्ता नारा लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad