सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन्।
गएराति लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा सवार युवकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा सर्लाहीकै कबिलासी नगरपालिका-८ अगर्वा निवासी २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन्।
उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन्। आगजनीबाट टिपरको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ।
पछि दमकलको सहयोगमा आगो निभाएको प्रहरीले जनाएको छ। क्रेनको सहायताले तानेर उक्त टिपरलाई जिल्ला ट्राफिक कार्यालय नवलपुरमा लगिएको छ।
Shares

प्रतिक्रिया