समाज


सर्लाहीमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन

सर्लाहीमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १०:५३, सर्लाही

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको छ। 

लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले बुधबार हरिवनमा उनलाई अभिनन्दन गरेको हो। 

राष्ट्रसेवामा समर्पित योगदान, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ। 

नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायणबहादुर खपाङीले विकट चेपाङबस्तीलगायत देशभरी नै विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताए। 

‘जलविद्युत एवम् सौर्य ऊर्जा उत्पादनमा ऐतिहासिक फड्कोमारी देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङको नेतृत्वदायी भूमिका छ,’ खपांगीले भने।

नागरिक अभिनन्द मूल समितिका संयोजक धनबहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमान्दारिता र जनउत्तरदायी नेतृत्वले राज्यको संस्थामा सेवा प्रवाहको नयाँ मानक स्थापित भएको बताए। 

घिसिङको अभिनन्दन केवल व्यक्तिको सम्मान मात्र नभइ त्यो निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रदा भएको उनको भनाई थियो। 

कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर वर्तमान सरकारले आफूलाई शून्य नम्बर दिएकोमा गुनासो गरे। 

‘जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हट्नु पर्यो,’ उनले भने, ‘अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेका छन्।’

अहिले लोडसेडिङको अँध्यारो हटेको तर अझै धेरै क्षेत्रमा अँध्यारै रहेको उनले बताए। 

उनले हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रुपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिने उनको भनाई थियो।

‘स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौँ भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ,’ घिसिङले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad