सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन्।
आज बाँके-सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारमा ना ५ ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलमा सवार सर्लाहीकै ईश्वरपुर नगरपालिका-१३ श्रीनगरकी १७ वर्षीया अञ्जली महतोको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन्।
घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको राईले बताए।
प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका-१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया