लामो समयको खडेरीपछि आज मधेस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार बिहीबार बिहान पर्सामा ७२ मिलिमिटर वर्षा भएको हो। त्यसैगरि बारामा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ।
लामो समयको खडेरीपछिको वर्षाले किसानले राहत महसुस गरेका छन्।
वीरगञ्ज महानगर-२१ पटेल नगरका शिवहरि पटेलले वर्षाले चैतेधानको लागि फाइदा पुगेको बताए। ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ।’
पछिल्लो समय तराई-मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ। चैतेधान तथा मकैखेती सिजन सुरु भएको छ।
वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए। पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ।
आज बिहान मधेस प्रदेशका सबै जिल्लामा वर्षा भएको छ। कतिपय ठाउँमा असार साउनमा हुने जस्तो भारी वर्षासमेत भएको छ।
Shares

प्रतिक्रिया