सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउने पुरुषको परिचन खुलेको छ।
गएको बिहीबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका-६ स्थित जंगल क्षेत्रमा बा ९४ प ९२३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पहिचान नखुलेका पुरुषको मृत्यु भएको थियो।
ती मृतकको शनिबार सनाखत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक सर्लाहीकै हरिपुर नगरपालिका-६ लक्ष्मीपुरका ६७ वर्षीय अवधी चौधरी रहेका प्रहरीको भनाई छ।
लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा हिँड्दै गरेका चौधरीलाई ठक्कर दिएपछि पल्टिएको थियो। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका प्रहरीले जनाएको छ।
गम्भीर अवस्थाका दुवै घाइतेलाई लालबन्दीमा प्राथमिक उपचार गरी बिहीबार राति नै थप उपचारको काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया